

जनकपुरधाम ।
निजि विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरले पुरानै निर्णय अनुसार शुल्क निर्धारण नगरे सम्पूर्ण निजि विद्यालयहरु अनिश्चितकालकालागि ठप्प पार्ने चेतावनी दिएको छ ।
निजि विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन तथा हिसानले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै पुरानै निर्णय अनुसार उपमहानगरले शुल्क निर्धारण नगरे निजि विद्यालयहरुमा पठनपाठन अनिश्चिकालकालागि ठप्प पार्ने चेतावनी दिएको हो ।
कक्षा ११ र १२का विद्यार्थीहरु छात्रवृति सम्बन्धमा शैक्षिक सत्र २०८१/०८२मा उपमहानगरसंग छलफल गरेरै २०७४को ऐन अनुसार नामाङ्कन शुल्क, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्कहरु लिन सकिने र पछि अनुगमन गर्ने सहमति नै भए अनुसार मिति २०८१/०५/१३ गते उपमहानगरपालिकाले नामावली सहित पत्राचार गरेको र सोही अनुसार गर्दै आए पनि नेपाल विद्यार्थी संघ धनुषाको दवाबमा पुनः मिति २०८१/०७/१४ गते फरक किसिमको निर्णय गर्नु आपत्तिजनक विषय रहेको विज्ञप्तिमा भनिएको छ ।
छात्रवृत्ति वितरण कार्यविधि २०७४’ बमोजिम छात्रवृत्ति दिने निर्णयलाई खारेज गरी रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्रै लिन पाउने भनी एउटै स्थानीय तहले फरकफरक निर्णय गर्नु लज्जास्पद रहेको निजि विद्यालयका संगठनहरुको भनाई छ । हाललाई पुरानै निर्णय अनुसार शुल्क निर्धारण गर्न विज्ञप्ति मार्फत माग समेत गरिएको छ ।
