

जनकपुरधाम ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषद्वारा जनकपुरधाम सामाचकेवा मूर्तिकला निर्माण कार्यशालाको आइतबार उद्घाटन गरिएको छ । ६ दिवसीय सो कार्यशालाको मधेसका मुख्यमन्त्री सतिश सिंहले उदघाटन गरेका हुन् ।
कार्यशालाको उदघाटन गर्दै मुख्यमन्त्री सिँहले मिथिलाको मधेशका पर्वहरु सामाजिक सम्बन्धलाई सुदृढ बनाउन तथा नयाँ पुस्तामा आत्मानुशासन तथा समूहबद्ध भएर काम गर्ने संस्कार र चेतना दिनुका साथै असल जीवनशैलीको अभ्यासका लागि प्रेरित गर्ने गरेको बताए ।
उनले सामाचकेवा पर्वले भाइबहिनीबीचको स्नेहलाई प्रकट मात्र गर्ने नभएर टोलछिमेकसँगको कसिलो र सार्थक सम्बन्ध र त्यसबाट सकारात्मक परिणाम खोज्ने रीति रहेको भन्दै पर्वका क्रममा उधिन्ने विषयवस्तु, परिवेश र पात्रहरूले आदर्श समाज निर्माणको परिकल्पना गरेको प्रस्ट्याए । मुख्यमन्त्री सिँहले सबै चाडपर्वका पछाडि आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएका मूल्यमान्यता रहेको प्रस्ट पार्दै साँस्कृतिक तथा परम्परागत पर्वको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मान गर्ने उद्देश्यले सामाचकेवासम्बन्धी कार्यशाला आयोजना गरिएको भन्दै मूर्तिकलामा निपुणताबाट जीविकोपार्जनको अवसर जुर्नसक्ने बताए ।
मैथिलीका बरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलले मिथिलाञ्लका परम्परा पछाडि जीवनमूल्य लुुकेको उल्लेख गरे । सामाचकेवाले नारीशक्तिको महत्ता, पारिवारिक ढाँचाको पुनर्गठन, पर्यावरण संरक्षण, असामाजिक तत्वको विरोध र सबैखाले विभेद तथा विभाजनविरूद्धको सन्देश दिने गरेको साहित्यकार डा. विमलले स्पष्ट गरे ।
मधेश प्रदेशसभाका प्रदेशसभा सदस्य रामसरोज यादवले सांस्कृतिक उत्थानकालागि मैथिली विकास कोषले काम गरिरहेकोमा सराहना गरे ।
कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवाका मूर्ति निर्माण कार्यशालाबाट नयाँ पुस्तामा समेत आफ्ना परम्परागत कला सिक्न र जगेर्ना गर्ने कौशल हासिल हुने बताए । उनले जनकपुरधाम र यहाँका धरोहरहरूको गौरव गरिमा वृद्धि गर्नेगरी जनक र जानकीको मूर्ति उत्पादन गर्ने र बिक्रीवितरण गर्ने प्रबन्ध हुनुपर्नेमा जोड दिए । मिथिलाञ्लका ख्यातिप्राप्त गायक सुनिलकुमार मल्लिकले सामाचकेवाका गीत गाएका थिए ।
