

जनकपुरधाम ।
क्रसर व्यवसायीहरुको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभा र राष्ट्रिय महाधिवेशन कात्तिक ३० गते महोत्तरीको बर्दिबासमा हुने भएको छ ।
सधारण सभा तथा महाधिवेशन कात्तिक ३० र मंसिर १ गते बर्दिबासमा हुन लागेको हो । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका सहसचिव मिनबहादुर शाहीले जानकारी दिए ।
२०७० सालमा स्थापना भएको महासंघको कार्यसमिति २१ सदस्यीय हुने विधानमा व्यवस्था छ । कार्यकाल तीन वर्षको हुन्छ । २०७७ माघ २० गते बुटवलमा महाधिवेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति चुनिएको थियो ।
सधारण सभा तथा महाधिवेशनमा देशभरबाट करिब ७सय ८० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । बर्दिबासको साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ ।
सधारणसभा तथा महाधिवेशनको उदघाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबाट गराउने महासंघको तयारी छ ।
महाधिवेशनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, उद्योग बाणिज्य तथा उपभोक्त हित संरक्षण समितिका सभापति अब्दुल खान, मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह, प्रदेश सरकारका मन्त्रीहरूका साथै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूलाई पनि निम्तो दिइएको छ ।
