

एजेन्सी ।
पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको छ । विस्फोटमा परेर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । त्यस्तै विस्फोटमा परी ४६ जना घाइते भएका छन् ।
अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशङ्का पनि व्यक्त गरेका छन् । घटनाको बारेमा जानकारी दिँदै क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले बीबीसीलाई भने, ‘क्वेटाबाट रावलपिण्डीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनकालागि पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको थियो । उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए ।’
मुहम्मद बलोचले भने कि घाइतेहरूलाई क्वेटाको सिभिल अस्पताल र ट्रमा सेन्टरमा रिफर गरिएको छ । रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटको निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् । उनले भने, ‘यो घटना आतंकवादीहरूले निर्दोष मानिसहरू, बालबालिका, मजदुर र महिलाहरूलाई निशाना बनाउँदै गरेको शृङ्खलाबद्ध आक्रमणको हिस्सा हो । राज्यमा आतंकवादीहरू विरुद्ध कारबाही भइरहेको छ ।’
