

सुजीतकुमार झा
जनकपुरधाम ।
मिथिलाञ्चलको आस्थाको महापर्व छठको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । प्रत्येक वर्ष चैत र कातिक महिनाको शुक्ल षष्टी तिथीका दिन जलासयको किनारमा भगवान सूर्यदेव र षष्टी देवीलाइ अर्घ अर्पण गरी छठ पर्व मनाइने परम्परा रहेको छ ।
चार दिवसीय छठ पर्वको आज तेस्रो दिन अस्ताउँदै गरेको
सुर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नारियल, केरा, अदुवा, फलफुल सहितका विभिन्न परिकारहरुको अर्घ अर्पण गरी चैती छठ पर्व मनाइएको छ ।

जनकपुरको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरीहरुलाई दुलही झैं सिंगारेर छठ पर्व मनाइदै छ । राम युवा कमिटीका पूर्व अध्यक्ष शम्भुप्रसाद साह ‘प्रेमी’ले जनकपुरधामको धनुषसागरमा राम युवाले, गंगा सागरमा गंगा सागर छठ पूजा समिति, अरगज्जा सरमा मिथिला सेवा समिति लगायतका संस्थाले छठको व्यवस्थापन गरेको वताए ।
यसैगरि धनुषा जिल्लाको ग्रामीण क्षेत्रमा पनि हर्षोल्लासका साथै छठ पर्व मनाइएको छ ।
छठका ब्रतीे भुवनेश्वरी देवीले आफुहरु ब्रत बसेर यो पर्व मनाएको बताएकी छिन ।
आदिकालमा सती अनुसुयाले रोग ग्रस्त पतिलाइ नीको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पुजापाठ गरेकी थिइन । त्यसैगरि महाभारत कालमा पाँच पाण्डवका द्रोपतीले कौरवलाइ पराजित गर्नका लागि सूर्य देवको उपासना गरि छठ पर्व मनाएकी पौराणिक कालमा उल्लेख रहेको छ । छठ पर्व गर्नाले दुख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग नीको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासकोसाथ छठ पर्व मनाउने
गरिन्छ । करीब ३६ घण्टा सम्म निराहार रहि गरिने यस व्रतलाइ कठोर निष्ठा आस्था र पवित्रताको पर्वको रुपमा स्थापित भएको छ । संस्कृति विद् एवं साहित्यकार चन्द्रमोहन झा ‘पड़वा’ ले छठ पर्वका कारण जनकपुरधामको एउटा छुटै पहिचान बनी रहेको बताउनु भयो ।
