

जनकपुरधाम ।
सर्लाहीको लालबन्दीमा एक महिलाले सडक पेटीमै बच्चालाई जन्म दिएकी छन् । बेवारिसे अवस्थाकी ती महिला र उनको नवजात शिशुको स्थानीय प्रहरी र लालबन्दी नगरपालिले उद्धार गरेको छ ।
लालबन्दी नगरपालिका–१ नवलपुरस्थित पूर्वपश्चि राजमार्ग छेउको सडक पेटीमा भर्खरै शिशु (छोरी)लाई जन्म दिएको अवस्थामा ती महिला फेला परेकी थिइन् । तत्कालै उनको उद्धार गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।
‘ती महिलाको नाम, ठेगाना खुल्न सकेको छैन,’ पाठकले भने, ‘शारीरिक रुपमा कमजोर देखिने उनको मानसिक सन्तुलन पनि ठिक नभएको आशंका हामीले गरेका छौँ ।’ करिब ३०/३२ वर्षीया ती महिलाले नाम सोध्दा कृष्णा र घर इन्डिया बताउने गरेको इन्सपेक्टर पाठकले बताए ।
आइतबार बिहान करिब ९ बजे ती महिलाले सडक पेटीमै बच्चा जन्माएको देखेपछि स्थानीयले नजिकैको प्रहरीलाई खबर गरेका थिए । ‘त्यसपछि हामीले नगरपालिका र वडा कार्यालयलाई खबर गर्यौँ,’ इन्सपेक्टर पाठकले भने, ‘नगरपालिकासँगको समन्वयमा सुरुमा उनलाई लालबन्दी नगर अस्पतालमा उपचार गरेर थप उपचारको लागि जनकपुरधाम ल्याइएको छ ।’
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आमा र बच्चाको स्वास्थ्य परीक्षण र उपचारपछि उनीहरुलाई मानव सेवा आश्रम जनकपुरधामको जिम्मा लगाइएको पाठकले बताए ।
ती महिला सडकमै यौन हिँसामा परेर गर्भवती भएको आशंका स्थानीयले गरेका छन् । तर, इन्सपेक्टर पाठकले भने यस विषयमा अहिले नै केही भन्न नसकिने बताए । ‘उनको आधिकारिक नाम ठेगाना खुल्न बाँकी नै छ । उनी कसरी लालबन्दी आइपुगिन् त्यो पनि खुलेको छैन । केही सोध्यो भने टाउको मात्रै हल्लाउँछिन्,’ इन्सपेक्टर पाठकले भने, ‘उनले आफ्नो घर इन्डिया भएको बताएकाले उनी भारतीय हुनसक्ने आशंका हाम्रो छ । थप विवरण अनुसन्धानपछि खुल्दै जाला ।’
