Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संस्मरणः साइकलको चेन खुस्कँदा





लक्ष्मी प्रसाद रिजाल

मैले सानो उमेरमा देखेका सर्वश्रेष्ठ व्यक्तित्वहरू गाउँका शिक्षकहरू थिए । उनीहरूको बहुआयामिक व्यक्तित्वबाट मेरा हजुरबा पनि प्रभावित हुनुहुन्थ्यो । उहाँले दसैँमा आशीष दिँदा  धेरै पढ्नू , मास्टर बन्नू भन्नुहुन्थ्यो। सबै मान्यजनले मास्टरलाई मानक बनाएर आशीर्वचन दिनुहुन्थ्यो  । हुन पनि  झगडा मिलाउनेदेखि , सिटामोल र शिवजल  बेच्ने , तमसुक लेख्ने , भेलाको नेतृत्व गर्ने गर्ने , राजनीति गर्ने, कविता लेख्ने  हार्मोनियम बजाउने आदि प्रतिभा भएका  दुर्गम पहाडी गाउँका शिक्षक दुर्लभ प्रतिभा हुन्थे । उनीहरूको  छुट्टै सान थियो ,मान थियो, सम्मान थियो  । यद्यपि अहिले बुझ्दा ३६ साल अघिका शिक्षकको वेदना निकै गहिरो रहेछ । शिक्षक बन्न पाए हुन्थ्यो भन्ने मनोविज्ञान र मृगतृष्णालाई हृदयको खल्तीमा बोकेर म क्याम्पस पढ्न थालेँ ।

२०४७ सालमा धरानमा क्याम्पस पढ्न थालेपछि स्कुल शिक्षकभन्दा क्याम्पस शिक्षक / प्राध्यापकको स्तर र सेवाको प्रकृति राम्रो लाग्यो । त्यतिखेर हाम्रो क्याम्पस का गुरुहरूले साप्ताहिक १५ – १८ पिरियड  कक्षा लिनुहुन्थ्यो । त्योभन्दा धेरै भार थपिए अतिरिक्त  रुपैयाँ पाइने , समयसीमा नहुने राजनैतिक बौद्धिक मञ्च प्राप्त हुने आदि कारणले विश्वविद्यालय सेवाप्रति मोह जागृत भयो ।
२०५१ मा जनकपुर गएपछि महोत्तरी बगडा विद्यालयमा पढाउन थालेपछि मेरो सवारी साधन साइकल नै थियो । म लगायत जनकपुरबाट बगडा जाने धेरै साथीहरू साइकलमा सहयात्रा गर्थ्यौँ । इन्धन नलाग्ने कम खर्चिलो स्वास्थ्य र तन्दुरुस्तीका लागि साइकल निकै उपयोगी साधन थियो । ५० को दशकसम्म त्यस भेगमा थोरै मानिस मात्र मोटरसाइकल चढ्थे । २०५१ सालदेखि नियमित साइकल चलाएपनि कहिलेकाहिँ चेन खुस्कँदा मलाई अलिक झर्को लाग्थ्यो । साथीहरूबाट खुस्किएको चेन बनाउन सिकेपनि चेन खुस्किएर पटकपटक हैरानी बेहोर्नुपरेको थियो।

म क्याम्पस पढाउन आतुर थिएँ  । तसर्थ  २०५२/५४ समूहमा  एम .ए .मा नामाङ्कन गराई परीक्षा दिएँ ।२०५५ मा नतिजा आयो। थेसिस सकेर प्रमाणपत्र हातमा आइपुग्दा २०५६ जेठ लागेको थियो । तत्पश्चात् जसरी भएपनि क्याम्पस पढाउन पाए हुन्थ्यो भन्ने लागेर सिन्धुलीदेखि सर्लाहीसम्म पुगेर क्याम्पस चहारेँ । माध्यमिक शिक्षक दरबन्दी छोडेर   प्राइभेट क्याम्पस पढाउनु उचित हुँदैन भन्ने अग्रज र शुभचिन्तकको सुझाबले पनि जनकपुर छोड्न दिएन । अनि जनकपुरकै कुनै क्याम्पसमा सेवा प्राप्तिका लागि चिरपरिचित प्राध्यापकहरूसँग फुर्सदमा भेटघाट गर्न थालेँ ।

२०५६ बैशाखमा एम.ए.को थेसिस बुझाएपछि क्याम्पस पढाउने  रहर लाग्यो । सरकारी क्याम्पसले पत्याउँदैन कि भनेर जनकपुर क्याम्पसमा गई परिचित प्राध्यापकहरुसँग कुरा राखेँ। त्यहाँ स्नातक तहमा शिक्षा सङ्काय र प्रमाणपत्र तहमा कानुन  तथा मानविकी सङ्काय समेत अध्यापन हुन्थ्यो । त्यो क्याम्पसका सहायक प्रमुख ईश्वर उपाध्याय रा.रा. ब.क्याम्पस नेपाली विषयका विभागाध्यक्ष हुनु हुँदो रहेछ । उहाँले सहानुभूति राख्दै तपाईं स्कुल शिक्षक हुनुहुँदो रहेछ। रारा क्याम्पसमा दिवा सत्रमा बी.ए. पढाउन समय मिल्दैन नत्र घन्टी सजिलै पाइन्थ्य‍ो, तापनि रारा क्याम्पसमा नै धेरै घन्टी भएकाले रहर पूरा हुन  सक्छ भन्ने आश्वासन दिनु भयो । तर ट्रान्स्क्रिप्ट अनिवार्य चाहिन्छ भन्नु भयो । थेसिस बुझाएर मूल्याङ्कन गर्न बाँकी थियो।मैले शोध निर्देशक स्नातकोत्तर क्याम्पस विराटनगरका गुरु भरत गैरेलाई फोन गरेँ । उहाँले एक हप्ताभित्रै मूल्याङ्कन गराई ट्रान्सक्रिप्टका लागि पत्र बनाउने प्रबन्ध गराइदिनुभयो ।

बल्ल बल्ल असार अन्तिममा प्रमाणपत्र हात लाग्यो । ठूलो शिक्षक बन्ने लालसाले तुरुन्तै स्नातकोत्तर क्याम्पस विराटनगर आई चारित्रिक प्रमाणपत्र बनाएर लगेँ।ईश्वर सरले क्याम्पस प्रमुखसँग कुरा गर्न भन्नु भयो। फिजिक्सका विद्वान् डा. रामस्वार्थ यादव क्यााम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँको घरमा नेपाली विषयका सह प्राध्यापक तथा प्राध्यापक संघका सभापति तीर्थ थापा सरको डेरा थियो । उहाँसँग मेरो चिनजाान थियो ,उहाँले केही महिना मलाई पढाउनु भएको थियो ।शनिबार  बिहान कदम चौक स्थित  डेरामा गई  गुरु तीर्थ थापासँग कुरा गरेँ ।उहाँले  माथिल्लो तलामा लगेर क्याम्पस प्रमुखसँग चिनारी गराउँदै मेरो कुरा राखि दिनु भयो । राय सरले  एम.ए .  कुन श्रेणीको हो भनी जिज्ञासा राख्नुभयो । मैले प्रथम श्रेणी आएछ भने । क्यामपस पढाउन न्युनतम द्वितीय श्रेणी आवश्यक पर्ने हुँदा उहाँले सोध्नुभएको रहेछ । चिफ सरले धेरै जनाले नेपाली विषय पढाउने चाहना राखेको हुँदा विज्ञापन गर्न लागेको सूचना दिनु भयो। बिचमा चिफ सर र विभागाध्यक्षले चाहेका एक एक जना मानिसलाई आंशिक शिक्षकमा नियुक्ति दिने अभ्यास आपसी असहमतिले स्थगित भएपछि भदौ दोस्रो सातामा विज्ञापन खुल्यो।आश्विन ४ गते कक्षा अवलोकन र अन्तरवार्ता भयो।नेपाली र अंग्रेजी विभागका प्राध्यापकहरुको उपस्थितिमा नमुना कक्षा र अन्तर क्रियात्मक अन्तरवार्ता भयो। त्यहाँ सहभागीमध्ये दुई जनालाई बिहान र  दुई जनालाई दिउँसोको कक्षा दिने गरी २०५६ अाश्विन १० गते नियुक्ति पाउँदा म निकै खुसी भएँ नरायण चालिसे ,नर्मदा मैनाली र सत्यनारायण गडेरी पनि ठूलो क्याम्पसको सानो शिक्षक बन्दा म जत्तिकै खुसी हुनु हुन्थ्यो ।हामी ४ मध्ये सत्य नारायण गडेरीको २०७१मा भएको बीभत्स हत्याको घटना  म कहिल्यै बिर्सन सक्तिन।

घन्टीक‍ो समय अलिक प्रतिकूल भएपनि मलाई दैनिक दुई घन्टी दिएर बनेको रुटिन अनुसार नै  जसरी पनि पढाृने  चाहना थियो। ७.५० मा सुरु भई ९.१० मा दुई घन्टी सकेर स्कुल पुग्न निकै कठिनाइ हुन्थ्यो। मैले स्कुलका प्रधानाध्यापकलाई ७ महिनाका लागि पहिलो घन्टी खाली राखेर आधा घन्टा  ढिलो आउने गरी  समय मिलाइ दिन अनुरोध  गरेँ । प्रशासनिक असहजताले होला उहाँले १०,१५मिनेट ढिलो आउने गरी मात्र छुट दिन सकिन्छ  भन्नु भयो  ।त्यही क्याम्पसका अंग्रेजी विषयका प्राध्यापक बाबुसाहेब   यादव मेरो स्कुल भएको गाउँका स्थानीय हुनुहुन्थ्यो ।उहाँले क्याम्पसमै मेरो समस्या थाहा पाउनु भएछ । त्य‍ो गाउँक‍ो प्रभावशाली वर्चश्वशाली र बौध्दिक व्यक्ति भएर पनि मलाई उहाँले सुरुदेखि नै धेरै माया गरेको अनुभूति गरेको थिएँ । मैले सहयोग नमागिकन स्कुलमै आएर सबै शिक्षका सामु एक शैक्षिक सत्रका लागि मलाई दोस्रो घन्टीमा स्कुल आइपुगे हुने गरी उहाँले सहजीकरण गरि दिएपछि १ घन्टीको रु ६० बाट मैले क्याम्पस पढाउन थालेँ।
क्याम्पस पढाउन थालेपछि मेरो साइकल यात्राको दूरी निकै बढ्यो । मोटरसाइकल किन्ने रहर भएपनि घण्टीको ६० रुपैयाँबाट खर्च धान्न सकिँदैन कि भनेर पुरानै साइकलको पैयाँ घुमाइरहेँ । बिहान छ बजे पिडारी चौक बाट राराब क्याम्पस , डेरा अनि स्कुल गरेर प्रतिदिन २२ कि.मि . जति पुरानो साइकल हुँइँक्याउँदै शिक्षण सेवा गर्नुको मज्जा बेग्लै थियो ।

त्यतिखेर राराब क्याम्पसमा बिहानी सत्रमा कमर्स र स्नातकोत्तर तहको  पढाइ हुन्थ्यो दिवा सत्रमा मानविकी सङ्काय र विज्ञान सङ्कायका कक्षाहरू चल्थे । बिहानी सत्रको प्रमाणपत्र तह( आइ.कम.) सेक्सन बी र इ मा मेरो घन्टी थियो। एउटा घन्टीमा विद्यार्थी सङ्ख्या अत्यधिक थियो। उदयपुर ओखलढुङ्गादेखि सर्लाहीसम्मका पढ्न चाहने र नचाहने दुवै प्रकृतिका विद्यार्थी थिए। जुँगामुठेदेखि अ‍ोठ निचोर्दा दूध आउनेजस्ता  विद्यार्थीहरुलाई समेट्नै गाह्रो। चार वर्ष माध्यमिक तहमा कक्षा लिएको अनुभवले पनि अप्ठेरो पार्यो । म विद्यार्थीलाई  तपाईं भन्थेँ त्यसैले मात्तिएका हुन् कि जस्तो लाग्यो। स्कुल शिक्षक भएकाले धीमा गतिमा विशद रुपमा विषयवस्तु बुझाएर पढाएका कारणले पनि विद्यार्थी नियन्त्रण नभएका हुन् भन्ने अहिले अनुमान गर्दै छु ।
त्यो कक्षामा दुईवटा ढोका थिए । अल्लारे ठिटाहरू प्राय: अगाडिको बेन्चमा बस्न पनि अर्कोतिरको ढोकाबाट नै प्रवेश गर्थे । त्य‍‍ो कक्षामा भिड हुनुको कारण चाहिँ छात्राको संख्या रहेछ। त्यहाँ अलिक धेरै , वाचाल  र राम्रा छात्रा थिए। छात्राहरु पछाडि बस्ने भएकाले उरन्ठेउलाहरु पछाडिको ढोकाबाट छिरेर अल्छी गर्दै अगाडिको बेन्चमा आउँदा रहेछन् ।
कारण बिस्तारै बुझ्न थालेँ । त्यतिबेला म लिखुरे थिएँ । त्यसैले हो कि विद्यार्थीहरु कक्षामा हल्ला गर्थे। सम्झाउँदा टेरेनन् ,एक दुई पटक  अलिक चर्को स्वरमा सम्झाउँदा पनि कक्षा नियन्त्रण भएन । केही केटी र केटाले कक्षा अव्यवस्थित बनाएको बुझेपछि कडा गाली गर्नुको विकल्प थिएन। रातोपिरो भएर होहल्ला गर्नेलाई कराएँ  । कराउँदा पनि कोही मुसुमुुसु हाँसे को ही तु चिज बढी है भन्न पो थाले । रिसको पारो तातेर हद भएपछि उग्र बन्दै भनेँ ।
आक्रोश थाम्न नसकेर मैले भनेँ ” हेर केटाकेटी हो ! यो क्याम्पस ह‍ो , केटाकेटीको  भेट  गर्ने , लभ गर्ने स्थान होइन, त्यसका लागि फिलिम हल र आँप गाछीतिर गए हुन्छ अनि पढ्न मन नभए बाहिर जाओ ।”  भनेेपछि “पतरकाले कडा डाइलग दियो जाऊँ ”  भन्दै एउटा जुँगामुठे  विद्यार्थी बाहिरियो । सँगै अरु ८,१० जना केटाकेटी पनि कोही अँध्यारो र कोही रातोपिरो  मुख पार्दै बाहिरिए । कक्षा केही शान्त भयो । पढ्न चाहने विद्यार्थी खुसी भए। गाली त गरियो केटाले ठोक्ने हुन् कि  भनेर डर लाग्यो बाहिरको फुलबारीमा केटाहरुक‍ो जमघट भयो । घन्टी बज्यो । अर्को कक्षामा त गएँ तर डरले राम्ररी पढाउन सकिनँ । अलिक छिटो निस्किएर चकडस्टर  राखेँ  । व्यवस्थापन तर्फका सहायक   क्याम्पस प्रमुख सी. के. सिंह सर हुनुहुन्थ्यो ।उहाँसँग भेट भएपनि समस्या राखिन।

जनकपुरको दक्षिणी भेेगमा रहेको क्याम्पसबाट उत्तरको पिडारी चौकमा रहेको मेरो डेरामा पुगी साथीले बनाएको खाना खाएर स्कुल जानुपर्ने थियो।क्याम्पसबाट निस्किन लाग्दा नजिकैको चिया पसलमा मैले गाली गरेका दुई चार जना केटाहरु चुरोट उडाउँदै गफ गर्दै थिए। तिनका नायिकाहरू पनि सँगै थिए ।तिनीहरूले चुरोट होइन ममाथिको क्रोधको धुवाँ छोडेजस्तो लाग्यो । साइकल चढेर डराउँदै उत्तरतर्फ बिसहरा चौकतिर लागेँ । साइकल पनि पुरानो थियो । हिन्दी कहानी मास्टरके साइकलसँग ठ्याक्कै मिल्ने। चुइँचुइँ गर्ने घन्टी बाहेक सबै थोक बज्ने। हो त्यही साइकल लिएर हुँइकिएँ । पछाडि हेर्नु भन्दा भााग् भाइ भन्दै अगाडि बढेँ ।
पिडरिया माई मन्दिरमा पुग्दा साइकलको चेन खुस्कियो । पछाडि हेरेको केटाहरु हात हल्लाउँदै  आउँदै उँदै थिए । हतार हतार स्टेन लगाएर  चेन बनाएँ ।बिषहरा चौकबाट पश्चिम लागी शिक्षा कार्यालय भएको निरौला निवासबाट उत्तर तिर साइकल घुमाएँ । बाटो अप्ठ्यारो थियो।बिषहरा पोखरीको किनारबाट स्काउट भवन  हुँदै तिरहुतिया गाछीको हाल महेन्द्र नारायण स्मृति सभाकक्ष भएको स्थान नजिक  आइपुग्दा फेरि साइकलको चेन खुस्कियो। अब पर्यो फसाद । अगिका केटाहरु ५० मिटर पर म आएकै बाटो आउँउँदै थिए । पछाडि फर्किएपछि झन् डर लाग्यो । माघ महिना भएपनि  चिटचिट पसिना आयो । बेकारमा जान्ने भएर गाली गरेकोमा पछुतो भयो । साइकल छ‍ाडेर भाग्दा झन् लखेटेर मुर्याउँछन् भन्ने लाग्यो  । फेरि साइकल नै लाने हुन् कि   भन्ने सोचाइले लोभ जाग्यो ।जे होस्, एकदुई अनुच्छेद गाली र दुईचार  मुक्का खाइने भयो भन्दै  निहुरिएर  नदेखेजस्तो गरेर चेन बनाउँदै थिएँ। हात ग्रिज लागेर कालै भयो । डरले मन अस्थिर थियो ।  मूला त्यो चेन पनि हतारका  बेलामा के बन्थ्यो र ? केटा नजिकै आइपुगे । मेरो सातोपुत्लो उड्यो । छातीको बेग खलाँती जस्तै भइसकेको थियोे ।मुटु ढुकढुक भएको थियो । अनुहार त पुरै कालोनिलो भएको हुनुपर्छ । डरले लुगलुग कामेकाले साइकलको चेन बनाउनै सकिन । खुब् क्याम्पस पढाउने भएको , आफूजत्रै केटालाई गाली गर्ने भएको भनेर आफैँलाई धिक्कारेँ । प्राप्ते तु षोडषे वर्षे पुत्रम् / शिष्यम् मित्रवदाचरेत् भन्ने नीति वाक्य संझेँ । पहिल‍ो  पटक केटाले रामधुलाई  गर्नेमा शतप्रतिशत विश्वस्त भएको थिएँ । मेैले गाली गरेपछि कक्षा छोड्ने मध्येकै दुई जना अलिक ठुला केटा  नजिकै उभिए । अब म के भएँ होला तपाईं आफैँ अनुमान गर्नुहोस् । रेडक्रस भवनको ठिक उत्तरपट्टि तितृको ठूलो रुखको फेदैमा केटाले पितृ बुझाउने परे भनेर म पुरापुरी तयारी भएर बाजका अगाडि परेको परेवाको हालतमा पुगेको थिएँ ।   एउटा केटाले के भयो सर ?? भन्यो म नबोली निहुरिरहेँ  । डर कति थियो भन्ने त्यसले बुझेनछ। ऊ मेरो नजिकै आयो। अर्कोले भन्यो यी पतरका  नेपाली सर है । ठुला केटाले अगि किन  गाली दिइस् भनेर  दनक दिन्छ कि भनेको त ए ! यो चेनलाई उल्टो घुमाउनु न भन्दै उसले  सजिलै साइकलको चेन बनाइदियो । धेरै वर्षदेखि  साइकल चढेपनि डरले गर्दा उल्टो चेन घुमाउन बिर्सिएँछु । उसले खुस्केको चेन बनाइसकेर  अब जानोस् सर ! भन्दै  खुरुखुरु साथी लिएर अगाडि गय‍ो ।

त्यो समूहका मेरा विद्यार्थीले यो घटना बिर्सए होला । साइकल बनाइ दिने  मधेसी मूलको उपकारी भाइले पनि यो घटना बिर्सियो होला। म पनि कक्षाका विद्यार्थी मध्ये सशस्त्र प्रहरीमा धेरै पहिले  निरीक्षक भएका सुरेश कोइरालाको नाम मात्र सम्झन्छु । एक जना पछि विद्युतमा काम गर्ने रामनरेश राय र गाईघाटको निकै तीक्ष्ण भट्टराई भाइको मात्र संझना छ। नाम चाहिँ सबैको विस्मृतिको गर्तमा डुब्य‍ो । साइकलको चेन बनाइ दिने भाइको अनुहारको  धुमिल प्रतिबिम्ब अहिले पनि मस्तिष्कमा ताजै छ ।
रारा  क्याम्पसमा ८ वर्ष अध्यापन गरेका दिनहरु , पहिलो अतिरिक्त आम्दानी , त्यो क्याम्पसले बनाइ दिएको परिचय , त्यहाँका विद्वद्जनको सङ्गतबाट अर्जित संस्कार , चेतना  अनुभव र अनुभूति , जनकपुरको रारा क्याम्पसमा प्रवेश गर्दाक‍ाा खुसीहरु र त्यो ठाउँले दिएको ममता तथा मैले जनकपुरलाई गर्ने असीम श्रध्दा समेत मेरो मानस पटलका अविस्मरणीय सम्पदाा हुन्। मेरो २२ वर्षे जनकपुर बसाई र तीब्र इच्छाले प्राप्त भएको क्यामपस अध्यापनको प्रारम्भिक चरणको यो  अविस्मरणीय घटनालाई मैले जिन्दगीको अनुपम अनुभव र रिसराग नराखी गुरुलाई सम्मान गर्ने मिथिला संस्कृतिको  उच्चतम संस्कार सम्पदा हो भन्ने ठानेको छु ।

– बुद्धशान्ति -२ ,झापा