

जनकपुरधाम ।
सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ७ बरहथवा बजारमा भीषण आगलागी हुँदा ठुलो मात्रामा धनमालको क्षति भएको छ ।
स्थानीय किसुन दासको घरमा रहेको विभिन्न पसलमा भएको आगलागीबाट व्यापक क्षति पुगेको हो । आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
बरहथवाका डिएसपी गौतम थापाका अनुसार राति नै प्रारम्भिक विवरण सङ्कलन गर्दा आगलागीबाट करिब पौने तीन करोड बराबरको क्षति भएको छ । डिएसपी थापाले नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको बताए ।
आगलागी नियन्त्रण गर्न २ घण्टाभन्दा बढी समय लागेको थियो । शुक्रबार राति ११ः३० बजेतिर सुरु भएको आगलागी शनिबार बिहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको डिएसपी थापाले बताए । स्थानीय, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बरहथवा प्रहरीले जनाएको छ ।
