Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रविको बयान सकियो, तिहारपछि अदालत उपस्थित गराइने





पोखरा।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान लिएका हुन् ।

सहकारी ठगी सम्बन्धमा प्रहरीले गरिरहेको अनुसन्धानका विविध विषयहरुमा उनीसँग प्रश्न सोधिएको कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन् ।

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले २ कात्तिकमा रविलाई रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्की स्रोतका अनुसार, उनले बयानका क्रममा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । रविले सूर्यदर्शन सहकारीमा आफू शेयर सदस्य, कर्मचारी, ऋणी वा अन्य कुनै भूमिकामा नरहेको भन्दै सहकारी ठगीमा संलग्नता नरहेको जिकिर गरेका छन् ।

स्रोतका अनुसार, उनले सहकारीमा बचत वा ऋणका लागि कुनै पनि किसिमको खाता नखोलेको बताएका छन् ।

‘मेरो नाममा ऋण निकासी भएको विषयमा पनि मलाई थाहा थिएन, मैले सहकारीबाट ऋण लिएको पनि थिइनँ’, उनको बयान उदृत गर्दै स्रोतले भन्यो, ‘गितेन्द्रबाबु राईले खोलेको कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले चलाएको ग्यालेक्सी फोरके टिभीमा मलाई सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालन गर्नका लागि अनुरोध गरेकाले म मासिक पारिश्रमिक लिने गरी उक्त कम्पनीमा गएको हुँ ।’

गोर्खा मिडिया नेटवर्कमा काम गर्न जाँदा आफूले ‘स्वेट शेयर’वापत आएको शेयरवापत १ करोड ८० लाख रुपैयाँ पारिश्रमिकबाट कट्टा हुने गरी त्यहाँ काम गर्न गएको लामिछानेले भनेका छन् ।

उनले आफू गोर्खा मिडिया नेटवर्कमा आर्थिक कारोबार हेर्ने व्यक्ति नभएको भन्दै भनेका छन्, ‘म कार्यकारी सञ्चालक पनि थिइनँ, सम्पूर्ण आर्थिक कारोबार गितेन्द्रबाबु राईबाटै चल्थ्यो ।’

आफूले कार्यक्रम चलाउने र व्यवस्थापक भएर मात्र काम गर्ने गरेको रविले बताएका छन् । ‘मेरो उपस्थितिमा कुनै पनि सहकारीबाट ऋण लिने काम भएको छैन । त्यसक्रममा मेरो संलग्नता पनि छैन’, लामिछानेले भने, ‘रवि लामिछानेको नाममा प्रवाह भएको ऋणको सम्बन्धमा त्यो व्यक्ति म होइन ।’

आफूले कम्पनी छाड्दा पनि कुनै रकम नलिएको उनले बताएका छन् । सरकारी वकिल कार्यालयका अधिकारीहरुका अनुसार, उनको बयान सकिएपछि प्रमाणीकरण पनि गरिएको छ ।

लामिछानेलाई अदालतले ८ कात्तिकमा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसअनुसार बिहीबार उनलाई अदालतमा उपस्थित गराउनुपर्थ्यो । तर, अदालत विदा भएकाले लामिछानेलाई २० कात्तिकमा अदालत हाजिर गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति मागिने जिल्ला न्यायाधिवक्ता काफ्लेले बताइन् ।

बयान सकिएपनि थप अनुसन्धान बाँकी रहेकाले म्याद थप गर्न पेश गरिने जिल्ला प्रहरी कार्यालय, पोखराका एसपी श्यामबाबु ओलियाले अनलाइनखबरसँग बताएका छन् । ‘यही मुद्दामा संलग्न अन्य व्यक्तिहरुलाई पनि खोजी गरिरहेका छौं, कतिपय विषयमा अझै बुझ्न बाँकी छ’, उनले भने, ‘त्यसैले उहाँलाई फेरि अदालत उपस्थित गराएर म्याद माग्छौं ।’

प्रहरीले रविको मोबाइल पनि फरेन्सिक जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्साल पठाएको छ । यही अवधिमा रविलाई पक्राउ गर्न जिल्ला अदालत, रुपन्देहीले पनि अनुमति दिइसकेको छ । सुप्रिम सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा पूरक जाहेरी परेपछि उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हो ।

सांसद् सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन समितिले  रवि प्रबन्ध निर्देशक भएका बेला पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गएको प्रतिवेदन दिएको थियो । पोखराको सूर्यदर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगञ्जको सानो पाइला र नेपालगञ्जको समानता सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम गएको विषयमा रविको संलग्नताबारे अनुसन्धान गरिरहेको छ ।

लामिछाने नेतृत्वको रास्वपाले भने सभापतिप्रति प्रतिशोध साधिएको दाबी गर्दै प्रदर्शन गरिरहेको छ । रास्वपा नेताहरुले सत्तारुढ दलका शीर्ष नेताहरुलाई समेत भेट गरेर रविलाई रिहा गर्न सहयोग मागिरहेका छन् ।