

सुजीतकुमार झा
जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयरमा युवा आएपछि नगरको कायापलट हुने सपना देखेका जनता निराश हुन थालेका छन् । मेयर मनोज साहको कामलाई लिएर अहिले चारैतिर आलोचना भइरहेको छ । आलोचकहरुले अब यहाँसम्म भन्न थालेका छन् – मनोज नगरपालिकामा समय मात्र बिताइ रहेका छन् ।
दीपावली जस्तो समयमा सडक अँध्यारो छ, बिजुलीका पोलहरुमा यसपाली बल्वहरु लगाइएको छैन । जनकपुरधाम वडा नम्बर ४ का वडाध्यक्ष सुरेश झाले पोलमा बत्ति लगाउनकालागि बल्व उपलब्ध गराउन दशैभन्दा पहिले देखि नै भन्दै आएपनि मेयरले कुनै चासो नदेखाएका कारण यस्तो अवस्थाको सिर्जना भएको आरोप लगाएका छन् ।

जनकपुरधाममा सबै भन्दा ठूलो वडा मध्ये एक रहेको वडा नम्बर ४ मा अधिकांश स्थानमा ४ महिना भन्दा बढी समयदेखि सडक बत्तिको अभावमा सडक तथा गल्लीहरु अँध्यारो रहँदै आएको छ । अन्ध्यारोका कारण चोरीका घटना बढेको देखिएपनि मेयरको यो प्राथमिकताको विषय बन्न सकेको छैन् ।
लालकिशोर साह मेयर हुँदा दशैँ देखि नै वडाहरुमा बत्ति लगाउन शुरु गराउनु हुन्थ्यो तर नगरको विकास प्रति शुरुदेखि नै उदासिन रहेका मनोजको सडकबति प्रति देखाएको उदासिनताले अझै आलोचकहरुलाई बोल्ने ठाउँ दिएका छन् । काम भन्दा घुमाइमा समय खर्चेकाले कुनै कार्य समयमा हुन नसकेको एक आलोचकले बताए ।
यता मेयर मनोजले दीपावलीमा बिजुली बत्ति लगाउन नसकेको स्वीकार गरेका छन् । मोडेल खबरसँग कुरा गर्दै उहाँले टेण्डर प्रक्रिया भइसकेको छ, छठ पछि बिजुली बत्ति लगाउने कार्य शुरु गरिने छ बताए । बिजुलीबत्तिका लागि ६० लाखको टेण्डर भएको छ ।
छठमा पोखरी सफाइका लागि नगरका प्रत्येक वडालाई २२ लाख रुपैयाँ उपलब्ध गराएको उनले अगाडी बताए ।
मेयरको मुख ताकेर बसेका वडाहरुमा काम भएको छैन तर नगरका केही वडाध्यक्षहरुले जोखिम मोलेर आफ्ना वडाको सबै ठाउँमा बल्ववत्ति लगाएका छन् । जनकपुरधाम वडा नम्बर ७ उदाहरणीय बनेको छ । सो वडाका वडाध्यक्ष निरज साहले आफ्ना वडामा ५४ वटा स्टेट लाइट र १५ वाडको ५सय ६५ वटा बल्व लगाएको जानकारी दिएका छन् । दीपावलीको समयमा सडकबत्ति बलेनन् भने राम्रो लागदैन यो सत्यलाई हामीले गम्भीरतापूर्वक महसुस गरेका छौँ उनले बताए ।
सो वडामा ९ दिन २८/२८ वटा मजदूर राखी चारैतिर सफाइ गरिएको समेत वडाध्यक्ष साहले मोडेल खबरलाई बताए । वडा नम्बर ११ र कुर्थामा पनि एकदूई दिन देखि बल्वबत्ति लगाउने कार्य वडा कार्यालयले शुरु गरेको छ ।
