

जनकपुरधाम ।
संयुक्त मधेश संघर्ष समितिले मुलुकको दुई ठूला दलले योजना बनाएको संविधान संशोधनको मुद्दा बिरुद्ध खबरदारी सभा गरेको छ । समितिले महोत्तरीको जलेश्वरमा आयोजना गरेको खबरदारीसभामा नेपाली कांग्रेस र नेकपा एमालेले प्रस्ताव गर्न लागेको संविधान संशोधनबिरुद्ध आवाज उठाएका छन् ।
खबरदारी सभामा बोल्दै पूर्व मन्त्री र माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले मधेशका नेताहरुले कसैले देला र पाइएला भन्ने लालच छोडेर संघर्षमा सहभागी हुनु पर्छ बताए । उनले यो मात्र एक मात्र बाटो रहेको हो भने । यादवले अहिलेको सरकार मधेशलाई दबाउने र राज्य गर्ने नीतिमा चलेको आरोप लगाए ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले काँग्रेस र एमालेको भ्रष्टाचारको संरक्षण र मधेशी–थारुलाई राज्यको मामिलाबाट सकेसम्म वहिष्कृत गर्ने यी दुई प्राथमिकता र एजेन्डा रहेको बताउँदै स्थायित्वका कुरा गर्नेहरु कस्तो स्थायित्व चाहन्छन् भनी प्रश्न गरे । उनले काँग्रेस–एमालेको अनौठो गठबन्धन निर्बाध सुन तस्करी, भूटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा घोटाला, गिरी टीबन्धु स्टेट घोटाला, सहकारीको अर्बौं रकम हजम पच जस्ता भ्रष्टाचारको काण्ड र भ्रष्टाचारीहरु संरक्षण तथा यस्तैको निरन्तरताको निमित्त स्थायित्वको कुरा गर्छन् भन्ने आरोप लगाए । दुई दलीय व्यवस्था ल्याएर काँग्रेस एमाले मात्र शासन गर्न खोजेको बताउँदै उनले कहीं न हुने यस्तो गठबन्धनको यात्रा यसैको निमित्त भएको भने । अध्यक्ष लालले संविधानको उल्टो संशोधनको कुरा गर्नेलाई मधेशी र थारुले उटाई दिने र यसको निमित्त जस्तो संघर्ष गर्नु परे पनि गर्न संयुक्त मधेश संघर्ष समिति तयार रहेको चेतावनी दिए । उनले मधेशका सबै शक्तिहरुलाई सत्ता गठबन्धनबाट बाहिरिएर संघर्षमा शामेल हुन अपील गरेका छन् ।

तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंहले वर्तमान निर्वाचन पद्धतिको पैसा, जात, धर्म, प्रशासनिक हस्तक्षेप, पार्टीमा नेताको तानाशाही जस्ता विकृतिको अन्त्य र समुचित समावेशी प्रतिनिधित्वको निमित्त समावेशी समानुपातिक निर्वाचन पद्धति नै एक मात्र समाधान रहेको बताए । जबर्जस्ती संविधान जारी गर्दा संविधानसभाको मंचबाट अब देश सहमतिको आधारमा चल्ने र जनताको आकांक्षा अनुरुप संविधानको संशोधन हुने भनेका नेताहरु जनतालाई धोखा दिइरहेको आरोप उनले लगाए ।
मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयोजक र संविधान सभा सदस्य जगत प्रसाद यादवले वर्तमान काँग्रेस र एमालेको गठबन्धन जनता र सिमान्तिकरणमा परेका समूहहरुले पाएको केही अधिकार पनि खोस्न थालेको यिनको षडयन्त्रबाट देखिएको छ भन्दै यसलाई मोर्चा र संयुक्त संघर्ष समितिले कुनै हालतमा सफल हुन दिने छैन भने ।
अर्का संविधानसभा सदस्य एकीकृत समाजवादीको नेता शीतल झाले मधेश विरुद्ध भइरहेको षडयन्त्र विरुद्ध सबै पार्टीका मधेशी नेताहरू एक ठाउँमा आउनु पर्ने विचार राखेका थिए ।
खबरदारी सभामा मधेश सरकारका पूर्व मन्त्री मधेश प्रदेशमा माओवादी संसदीय दलको नेता भरत साह, नेसपाको अध्यक्ष रामकुमार महतो, जनाधिकार पार्टीको अध्यक्ष इमदाद गद्दी, मधेशी राष्ट्रिय मुक्ति मोर्चा महोत्तरीको अध्यक्ष बिजय यादव, तमलोपाका नेताहरु जोगिन्दर राय तथा बिमला साहले पनि मनतव्य राखेका थिए ।

