

काठमाडौं ।
सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रक्राउ गरेको दश दिन पुग्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा कार्यवाहकको औपचारिक जिम्मा दिइएको छैन । तर उपसभापति डिपी अर्यालले अघोषित कार्यवाहक सभापतिका रुपमा काम गरिरहेका छन् ।
पार्टी सभापति तथा संसदीय दल नेता रहेका लामिछाने २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
त्यसैले उनले खुला रुपमा पार्टी काममा समय दिन सक्ने छैनन् । पार्टी विधान अनुसार सभापतिले तोकेका दुई उपसभापति मध्ये एकजना कार्यवाहक सभापति हुने व्यवस्था छ । उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेमध्येबाट एकलाई लामिछानेले कार्यवाहक सभापति तोक्नुपर्ने हुन्छ ।
रास्वपा पार्टी विधानले भन्छ, ‘दुई उपसभापतिमध्ये उमेरमा जेष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रुपमा सभापतिको कार्य गर्ने ।’
विधानको पहिलो व्यवस्था अनुसार ज्येष्ठ उपसभापति कार्यवाहक सभापति हुँदा स्वर्णिम वाग्ले स्वतः हकदार हुन्छन् । २०३१ सालमा जन्मिएका यी दुईमध्ये वाग्लेको उमेर अर्यालको भन्दा तीन महिना बढी छ ।
विधानमा उल्लिखित अर्को व्यवस्थामा अनुसार ‘सभापतिले तोकेको उपसभापति’ लाई कार्यवाहक सभापति बनाउने गरी लामिछानेले निर्णय गरेका छैनन् ।
यद्यपि, लामिछाने पक्राउ परेपछि कार्यवाहक सभापतिको अभ्यास भने भइसकेको छ । कात्तिक ५ गते विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदा रास्वपाबाट हस्ताक्षर अर्यालले गरेका थिए । विपक्षी अन्य चार दलका अध्यक्षले हस्ताक्षर गरेको ज्ञापनपत्रमा अर्यालले रास्वपाबाट सभापतिको हैसियतमा हस्ताक्षर गरेका थिए ।
रास्वपा नेताहरुका शनिबार भएको केन्द्रीय समिति बैठकको अध्यक्षता अर्यालले गरेका थिए । पार्टी सभापतिको निर्देशनमा महामन्त्रीले बैठक आह्वान गर्ने प्रचलन छ । सभापति लामिछाने थुनामा रहेकै बेला कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले उनीसँग बैठक बोलाउने बारेमा पनि छलफल गरेका थिए । बुर्लाकोटीले दुई उपसभापतिसँग छलफल गरेर बैठक बोलाउन सभापति लामिछानेले सल्लाह दिएको सुनाए ।
शनिबारका लागि केन्द्रीय समिति बैठक बोलाउनका लागि बुर्लाकोटीले दुबै उपसभापतिसँग कुरा गरे । बुर्लाकोटीका अनुसार उपसभापति वाग्लेले अध्यक्षता अर्यालले गर्ने गरी बैठक आह्वान गर्न सुझाव दिएका थिए । वाग्लेले नै अर्याललाई अघि सारेपछि पार्टीभित्र समस्या नरहेको नेताहरु बताउँछन् ।
