

जनकपुरधाम ।
जनमत पार्टीका शीर्ष नेताहरूको अभिव्यक्ति र सामाजिक सञ्जालमा पोस्ट भईरहेको विचारले सत्ता गठबन्धनका साथै मधेस सरकारमा धक्का लाग्ने संकेत गरेको छ । अहिले जनमत पार्टीले मधेस प्रदेशको सरकार नेतृत्व गरि रहेको छ । तर पछिल्लो समय सरकारको काम कारबाहीप्रति सत्ता साझेदार दलका नेताहरूले असन्तुष्टि जनाएपछि सरकार नै सङ्कटमा परेको हो कि भन्ने चर्चासम्म शुरु भएको थियो । यहाँसम्म कि जनमत पार्टीले अरू दलको मन्त्रालयमा पनि हस्तक्षेप गरेकाले त्यसको गुनासो केन्द्रसम्म आइपुगेको जनमत पार्टीकै नेताहरु बताउँछन् ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दिएको अभिव्यक्तिलाई लिएर पनि मधेस सरकारको आयुमाथि प्रश्न खडा भएको छ ।
पछिल्लो समय जनमत पार्टीका अध्यक्ष राउतले सरकारकै विरुद्धमा दिएको अभिव्यक्तिबारे बालुवाटारमा चर्चा सुरु भएको छ । संसद् होस् वा बाहिर, अध्यक्ष राउतले केन्द्रीय सरकारलाई बेफाइदा हुने खालको अभिव्यक्ति दिँदै आएका छन् । जसले गर्दा मधेस प्रदेश सरकारको विकल्पबारे सोच्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा लगभग सकारात्मक देखिएको स्रोतहरूको दाबी छ ।
यता, पछिल्लो समय नेता तथा कार्यकर्ताले जनमत पार्टी छाड्न थालेपछि पार्टीका उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख ई.दीपक साहले पार्टी नछाड्न अपिल गरेका छन् ।
उनको अपिलमा भनिएको छ, ‘जनमत पार्टी तपाईं हाम्रो रगत पसिनाले बनाएको पार्टी हो ।’ पार्टीलाई मजबुत बनाउन नेतृत्वलाई साथ दिएर जनताको बृहत्तर हितमा काम गर्ने उल्लेख गर्दै उनले अनुशासित भई पार्टीभित्र संघर्ष गर्न पनि आग्रह गरेका छन् ।
यता मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्री एवं कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले सरकारमै बसेर, सत्ता गठबन्धनमै रहेर सरकार बिरुद्ध बोल्नु गलत रहेको प्रतिक्रिया दिए । सत्तारुढ दलका शिर्ष नेताहरुलाई कुनै अभिव्यक्ति दिँदा संयमित भएर बोल्नुपर्छ, उनले भने ‘रवि लामिछानेको मुद्दामा जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारकै बिरुद्धमा अभिव्यक्ति गठबन्धनको मर्म विपरित हो ।’ अगाडी भने ‘सहकारी पीडितले लामिछाने बिरुद्ध उजुरी दिए, अहिले अनुसन्धान चलिरहेको छ, सत्तारुढ दलबाटै अनुसन्धानमा असर पार्नु सही होइन ।’
यद्यपि जनमत पार्टीका सचिव विपी साहले लामिछानेको मुद्दामा जनमत पार्टीको आधिकारिक कुनै किसिमको अभिव्यक्ति नआएको स्पष्ट पारे । अध्यक्षजीले सामाजिक सञ्जालमा राखेको पोष्टमा लामिछाने निर्दोष हुन् भनेका छैनन्, उनले भने ‘त्यो पोष्टमा षडयन्त्र गरेर साना तथा नयाँ दलहरुलाई षडयन्त्र गरेर तर्साउनु हुँदैन भन्ने आशयको पोस्ट मात्रै राखेका हुन्, यता हामीले त भनिरहेकै छौँ यदि लामिछाने दोषी हुन् भने उनलाई कारबाही हुनु पर्छ ।’
यही विषयलाई लिएर सत्ता गठबन्धनमा केही निर्णय हुन्छ भने हामी त्यसकालागि तयार रहेको जनमतका सचिव साहले बताए । उनले हाम्रो लागि एजेण्डा महत्वपूर्ण हो सरकार नरहेको प्रतिक्रिया दिए । सचिवालय बैठकबाट पार्टीको एजेण्डा पूरा गर्नका लागि नेता कार्यकर्ताहरुलाई आन्दोलनकालागि तयार रह्न समेत भनि सकिएको उनले बताए । सचिव साहले जनमत पार्टीकालागि सरकारमा बस्नै पर्ने बाध्यता नरहेको स्पष्ट पारे ।
