Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमतभित्र अध्यक्ष राउतको निरंकुशता बढ्दै गईरहेको आरोप





जनकपुरधाम ।
संसद्मा होस् वा सार्वजनिक मञ्च, जनमत पार्टीका अध्यक्ष सीके राउत परिपक्व सुनिन्छन् । उनी जति मीठोसँग राजनीतिमाथि टिप्पणी गर्छन्, आफ्नै पार्टीमा लोकतान्त्रिक अभ्यास गर्न भने नसकेको आरोप लागि रहन्छ । जसका कारण उनको दलले बितेका दुई वर्षमा अपेक्षाकृत गति लिन भने सकेन । स–साना असन्तुष्टिमा कारबाहीको डण्डा चलाउँदा एकातर्फ अध्यक्ष राउतमाथि निरंकुशताको आरोप लाग्न थालेको छ भने अर्कोतर्फ परिवारवादमा फसेको भन्दै चर्को असन्तुष्टि पार्टीमा छ । पछिल्लो समय श्रीमती सोनी सिन्धु रानीसँगको घरझगडा अदालत पुगेपछि उनी थप विवादमा परेका छन् ।
एक्लै पार्टी चलाउने उनको शैलीले भित्रभित्रै असन्तुष्टि भने झाँगिँदै गएको छ ।
पृथकतावादी बाटो त्यागेर वैधानिक राजनीतिमा आएका राउत गत आमचुनावमा जनताबाट अनुमोदित मात्र भएनन्, उनको नेतृत्वमा मधेशको भरोसा बोकेर जनमत पार्टी उदायो । वर्षौं राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको दल नेकपा एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राउतको पार्टी जनमतले राष्ट्रिय मान्यता प्राप्त ग¥यो । मधेशकेन्द्रित पुराना दलहरूको विकल्पका रूपमा उनको पार्टीलाई लिइएको थियो । तर, उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी हाँक्ने शैलीभन्दा राउत पनि पृथक् हुन सकेनन् ।
एकपछि अर्को अवसरमा निकटस्थ र पारिवारवाद लादेको आरोप उनीमाथि लाग्दै आएको छ । मधेश प्रदेशमा समानुपातिकतर्फ एक नम्बरमा राखेर वविता राउतलाई सांसद बनाइयो । उनी हाल प्रदेशसभा उपसभामुखसमेत छिन् । उनी राउत नजिकको रहेको भन्दै पार्टी भित्रै असन्तुष्टी देखिएको थियो ।
अध्यक्ष राउतले पृथकतावादी आन्दोलनदेखि सँगै रहेका नेताहरूभन्दा आफ्नै दाइ डा. जयकान्त राउतलाई मात्र विश्वास गर्ने र अवसरको खात लगाएको आरोप लागेको छ । गत चुनावमा राउत दाजुभाइ क्रमशः सप्तरी क्षेत्र नं. १ र २ बाट उम्मेदवार भएका थिए ।
दाइ पराजित भए पनि उनी विजय प्राप्त गरे । उनी गैरराजनीतिक पृष्ठभूमिबाट आएका हुन् । उनमा राजनीतिक चरित्र नभए पनि नेतृत्व र अवसरको खात लगाइएको भन्दै नेताहरू असन्तुष्ट छन् । हुन पनि, कृषिविज्ञको पृष्ठभूमि रहेका डा. राउतलाई चुनावमा उम्मेदवार बनाइयो । पराजित भएपछि लगत्तै बनेको सरकारमार्फत राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरियो ।
राष्ट्रिय परिषद् अध्यक्ष पनि उनै छन् । संगठन विभागको जिम्मेवारी पनि डा. राउतलाई नै दिइएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी पनि उनैलाई छ । ‘यस्तो लाग्छ, हाम्रो अध्यक्षलाई दाइबाहेक अरुप्रति भरोसा नै छैन । भएभरका सबै जिम्मेवारी र अवसर उनैलाई दिए मात्र सफल हुन्छु भन्ने लागेको देखिन्छ,’ जनमतका एक नेताले भने ।
पार्टीमा मात्र होइन, मधेश सरकारका नियुक्तिमा समेत दाइ जयकान्त हावी छन् । सतीशकुमार सिंह मधेशको मुख्यमन्त्री नियुक्त भएपछि उनले साढु दिलीप खड्गालाई मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिव नियुक्ति गर्न दबाब दिए । अर्का साढुका छोरा पारस माझीलाई स्वकीय सचिव राख्न भने । केही दिन आनाकानी गर्दा मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधियो । ‘राज्यमन्त्री नियुक्तिलाई निहुँ बनाए पनि स्पष्टीकरणको मुख्य कारण आफूले भनेका व्यक्ति नियुक्तिमा आनाकानी गरेकाले हो,’ मधेशका अर्का नेता भन्छन् ।
त्यसो त, मधेशको मुख्यमन्त्री जनमतले पाउँदा संसदीय दलका नेता महेश यादव मुख्यमन्त्री हुने धेरैको अपेक्षा थियो । तर, उनलाई पन्छाएर सिंहलाई मुख्यमन्त्री बनाइयो । त्यसले पनि जनमत पार्टीमा अध्यक्ष डा. राउतले जे भन्छन्, त्यही विधान र निर्णय हुने गरेको पुष्टि गर्छ । भलै, यादव त्यसअघि नै मन्त्री भइसकेकाले अवसर नपाएका सिंहलाई अघि सारिएको दाबी डा. राउतनिकट नेताहरू गर्छन् ।
अध्यक्ष राउतले प्रतिनिधिसभा सदस्य गोमा लाललाई फिर्ता बोलाउन चाहेका छन् । गत वर्षको उपनिर्वाचनमा उपेन्द्र यादवलाई जिताउन सघाएको आरोप उनीमाथि छ । पार्टी नीतिविपरीत हिँडेको र संसदमा पनि कमजोर देखिएको भन्दै कारबाही गर्न खोजिएको छ । संसदमा प्रभावशाली प्रतिनिधित्व गर्न नसके साढे दुई वर्षमा फिर्ता बोलाउने निर्णय जनमतले गरेको छ । तर, दुई वर्ष नपुग्दै पटक–पटक हटाउन खोजिएको छ । पार्टीले फिर्ता बोलाउन खोजेपछि लालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी विभाजनका लागि सहयोग मागेको आरोप संस्थापनले लगाएको छ ।
गत २६ असारमा सचिव बीपी साहसहित सात जनालाई अध्यक्ष राउतले निलम्बन गरेका थिए । राष्ट्रिय सचिव अनिताकुमारी यादवका अनुसार, पार्टीको अनुशासन समितिको सिफारिसमा राष्ट्रिय सचिव साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघ सिरहाका पूर्वअध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धीरज कामती, मिर्चैयाकी अनिताकुमारी यादव र मिर्चैया नगरपालिकाका पूर्वसचिव दीपनारायण यादवलाई पनि तीन महिनाका लागि निलम्बन गरिएको थियो । उनीहरू विधानविपरीत चलेकाले अनुशासनको कारबाही गरेको भनिएको छ । तर, पार्टी अध्यक्ष राउत सहभागी कार्यक्रममा हुटिङ गरेको भनेरसमेत नेता–कार्यकर्ताहरू कारबाहीमा परेको कतिपयको बुझाई छ । केही दिन अगाडी मात्रै त्यो निलम्बन हटाइएको थियो ।
यी सबै घटनाक्रमले मधेशको उदयमान दल जनमतमा भित्रभित्रै असन्तुष्टि र अन्तरविरोध चर्किंदै गएको देखिन्छ । जनमतका प्रवक्ता शरदसिंह यादव पनि पार्टीभित्र अन्तरविरोध रहेको स्वीकार्छन् । ‘पक्कै हो, एउटा प्रजातान्त्रिक र जीवन्त पार्टीमा मतभेद हुन्छ, वादविवाद हुन्छ । तर, त्यो सबै पार्टीलाई थप बलियो र आफ्ना मुद्दाकेन्द्रित बनाउनका लागि हो,’ उनी भन्छन्, ‘बाहिर चर्चा गरिएजस्तो ठूलो समस्या हामी देख्दैनौँ ।’