

एजेन्सी ।
सहारा मरुभूमिमा बितेको पाँच दशकमा पहिलो पटक डुबान भएको छ ।
त्यहाँ दुई दिनसम्म भारी वर्षा भएको र औसतमा एक वर्षमा पर्नेभन्दा बढी पानी परेको हो । जसका कारण मरुभूमिमा दुर्लभ मानिने डुबान भएको हो ।
मोरक्कोको मौसमसम्बन्धी निकायका एक अधिकारी हुसिन यूआबेबले अमेरिकी समाचारसंस्था असोसिएटेड प्रेसलाई बताएअनुसार यति छोटो समयमै यति धेरै पानी परेको ३० देखि ५० वर्ष भइसकेको थियो ।
उत्तरी, मध्य र पश्चिमी अफ्रिकामा एक दर्जन देशमा फैलिएको सहारा मरुभूमिलाई संसारकै सबैभन्दा लामो तातो मरुभूमि मानिन्छ । दक्षिणपूर्वी मोरक्कोलाई संसारको सबैभन्दा सुक्खा ठाउँमध्ये एक मानिन्छ। यहाँ ग्रीष्मयामको उत्तरार्धमा पानी पर्नुलाई दुर्लभ मानिने बीबीसीले उल्लेख गरेको छ ।
मोरक्कोको राजधानी रबाटबाट झन्डै ४५० किलोमिटर दक्षिणमा रहेको ट्यागूनाइटमा २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै वर्षा मापन गरिएको छ । यस्तो वर्षालाई मौसमविद्हरूले ’अतिउष्णक्षेत्रीय आँधी’ (’एक्स्ट्राट्रपिकल स्टोर्म’) भनेका छन् । मोरक्कोको मौसमसम्बन्धी निकायले असोसिएटेड प्रेसलाई बताएअनुसार हावामा पानीका मात्रा धेरै हुँदा त्यसले वाष्पीकरणलाई प्रोत्साहित गर्छ र थप आँधीबेहरी ल्याउने वातावरण बनाउँछ ।
डुबान भएका तस्बिरहरू नासाले हालै सार्वजनिक गरेको छ । भूउपग्रहबाट खिचिएका ती तस्बिरहरूमा जगोरा र टाटा सहरका बीचमा रहेको क्षेत्रमा पानी भरिएको देखिन्छ । यो विगत ५० वर्षसम्म सुक्खा थियो ।
मौसमविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ’डब्ल्यूएमओ’का अनुसार संसारभरि नै वर्षाचक्र छिटो छिटो बदलिने क्रम अहिले बढेको छ ।
