

जनकपुरधाम ।
आज कोजाग्रत पूर्णिमा मिथिलाञ्चलमा धुमधामका साथ मनाईँदैछ । मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाको विशिष्ट महत्व महत्व रहेको छ खास गरी नवविवाहित पुरुष र महिलाका लागि । आजको दिन दुल्ही पक्षबाट दुल्हा पक्षको घरमा भार (कोसेली ) पठाईन्छ । त्यसपछि बेहुलाको चुमाओन गरिन्छ र भोजभतेरको आयोजन समेत गरिने गरिन्छ ।
मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिकारूपमा प्रसिद्ध मानिएको छ । कोजाग्रतका राती भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातीमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने जनविश्वास रहेको छ ।
पर्वमा घरको आँगनमा अष्टदल अरिपण समेत दिईन्छ । अरिपन माथि डालासहितका सामाग्री राखिन्छ र विशेष मन्त्र उच्चारण गर्दै दुरवाच्छत दिईने गरिन्छ । त्यसपछि बेहुलाको घरमा भोजभतेरको आयोजना गरिन्छ जसको सम्पूर्ण खर्च बेहुली पक्षले बेर्होनुपर्छ । भोज भतेरपश्चात् पान र मखान बाड्ने गरिन्छ । आजको दिन बेहुली पक्षबाट बेहुलाको घर चाँदीको कौडा बनाएर पठाईन्छ र राती बेहुलीका भाई र बेहुलाले कौडा खेल्ने परम्परा रहेको छ ।
गृहस्थ परिवारमा कोजाग्रस्त आज मनाइए पनि जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विहिवार मनाइने छ । उदयाचल तिथिलाई जानकी मन्दिरले मान्ने भएकाले अन्यले मनाउने कोजाग्रतभन्दा जानकी मन्दिरमा बिहिबार कोजाग्रत पूर्णिमा मनाइने जानकारीका मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।
