Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस केन्द्रित दलहरु कार्यालयको भवन बनाउने तयारीमा





जनकपुरधाम ।
व्यवसायी मीन बहादुर गुरुङले दान दिएको जग्गामा एमाले पार्टी कार्यालय बन्ने समाचार सार्वजनिक भएसँगै त्यसबारे विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । बाढी पहिरोले हजारौँ मानिसहरू घरबारविहीन भएको बेला सरकारको नेतृत्वकर्ता दल एमालेको पार्टी कार्यालयका लागि व्यवसायीले जग्गा दान दिनु र भवनसमेत व्यवसायी आफैले बनाइदिने घोषणा गरेपछि यसको पक्ष र विपक्षमा तर्क वितर्क सुरु भएका हुन् । अविरल वर्षापछि आएको बाढीका कारण एमालेको कार्यालय रहेको भवनमा नराम्ररी क्षति पुर्यायो । त्यसपछि एमालेले अर्कै स्थानमा कार्यालयको भवन निर्माण गर्ने तयारीमा जुटेको हो ।
एमालेको विषयमा प्रश्न उठिरहेका बेला मधेस केन्द्रित दलहरु समेत कार्यालयको आफ्नै भवन निर्माणको तयारीमा जुटेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले यसै वर्ष आफ्नो कार्यालय भवन निर्माणको कार्य सुरु गर्ने भएको छ ।
जसपा नेपालले भवनको नक्सा ललितपुर महानगरपालिकालाई पठाएको छ । त्यहाँबाट नक्सा पास भएर आएपछि भवन निर्माणको काम सुरु गरिने जसपा नेपालका आर्थिक विभाग प्रमुख बलराम महतोले बताए ।
उनले भने, ‘भवन निर्माणका लागि डिजाइनको काम सकिएको छ । नक्सा पासका लागि पालिकामा पठाएका छौँ । नक्सा पास भएर आएपछि तत्कालै काम सुरु हुन्छ ।’
ललितपुरको सातदोबाटोमा जसपा नेपालको नाममा डेढ रोपनी जग्गा छ । सोही जग्गामा करिब पाँच करोड रुपैयाँ लागतमा कार्यालय भवन निर्माण गर्ने तयारी भएको स्रोत बताउँछ ।
सुरुमा तीन तले भवन बनाइने, त्यसपछि अझै दुई तला थप्ने योजना रहेको अर्थ विभाग प्रमुख महतोले जानकारी दिए । उनले भने, ‘लक्ष्य त पाँच तले भवन बनाउने हो तर अहिलेलाई तीन तलाका लागि नक्सा बनाएको छ । पछि दुई तला थप्नेछौँ ।’
भवन निर्माणका लागि कति बजेट लाग्छ भन्नेबारे महतोले खुलाउन चाहेनन् । उनले भने, ‘काम सुरु नगरी कसैले चन्दा सहयोग गर्दैनन् । नक्सा पास गरेर आएपछि तत्कालै आफ्नो साधन स्रोतबाट भवन निर्माणको काम सुरु गर्छौं । काम सुरु भएपछि मात्र अरुलाई चन्दा र सहयोगका लागि आह्वान गर्छौं ।’
हालसम्म कहीँ कतैबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको महतोले बताए । उनले लामो समयदेखि भवन निर्माण गर्ने चर्चा चले पनि बजेट अभावकै कारण काम अघि बढ्न नसकेको खुलाए । ‘तर अब काम सुरु हुन्छ । जति बजेट हुन्छ, त्यही अनुसार काम गर्दै जान्छौँ ।’
नक्सा बनाएर पालिकासम्म पठाउन ११–१२ लाख रुपैयाँ खर्च भइसकेको महतोले बताए ।
२०७६ मा बसेको पार्टीको बैठकले आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको थियो । त्यतिबेला हरेक प्रदेशलाई आर्थिक सङ्कलनका लागि सर्कुलर गरिएको थियो ।
जसपा नेपालका एक जना कार्यकारिणी सदस्यका अनुसार कोशी प्रदेशले ५० लाख, मधेस प्रदेशले दुई करोड, बागमती प्रदेशले २५ लाख, गण्डकी प्रदेशले २५ लाख, लुम्बिनी प्रदेशले ५० लाख, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले १०÷१० लाख आर्थिक सङ्कलन गर्नुपर्ने निर्देशन दिइएको थियो ।
गैरभौगोलिक प्रदेशले २५ लाख र प्रवास कमिटीले एक करोड सङ्कलन गर्ने भनिएको थियो । त्यस्तै, भवन निर्माणका लागि प्रत्येक केन्द्रीय सदस्यले पाँच हजार, संघीय परिषद् सदस्यले दुई हजार र साधारण सदस्यले पाँच सय रुपैयाँ बुझाउनुपर्ने भनिएको थियो । त्यसमध्ये अधिकांशले रकम संकलन नै नगरेको पार्टी स्रोतले जनाएको छ ।

सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले आफ्नो पार्टी कार्यालय स्थापनाकालागि अक्षयकोष स्थापना घोषणा गरेको एक वर्षभन्दा बढी भएको छ ।
जनमत पार्टीको केन्द्रीय सचिवालयको २०८० असार ३ र साउन १ गतेको बैठकले पार्टीको स्थायी भवन संरचनाका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेको थियो । निर्णयमा जनमत पार्टीले दाताहरूका लागि विभिन्न अफर समेत ल्याएको थियो ।
जसअनुसार पुरै भवन संरचना निर्माण गरिदिएमा दाताकै नामबाट भवनको नामकरण हुने भनिएको थियो । तीन करोड भन्दामाथि दान दिएमा सम्बन्धित दाताको नामबाट सभा र बैठक कक्षहरू नामकरण हुने, एक करोडमाथि दान दिने दाताको नामबाट कक्षहरू नामाकरण हुने, १० लाखमाथि दान दिने दाताको नाम अंकित शिलामा लेखिने गरी राखिने समेत जनमतले बताएको थियो । यस्तै एक लाखमाथि दान दिने दाताको नाम साइनबोर्डको सूचीमा राखिने अफर जनमत पार्टीले दिएको थियो ।
२०८० साउन ४ गते सो पार्टीका प्रवक्ता डा.शरतसिंह यादवले जारी गरेको विज्ञप्तिमा अक्षयकोषको पैसा ‘मल्टिपल हल’ र पार्किङ सुविधा सहितको पार्टी कार्यालयको स्थायी भवन संरचना प्रयोजनका लागि मात्रै प्रयोग गरिने उल्लेख गरिएको छ ।