

सुजीतकुमार झा
जनकपुरधाम
गृहस्थ परिवारमा कोजागरा भोलि मनाइए पनि जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विहिवार मनाइने छ ।
कोजाग्रात पूर्णिमाका दिन जनकपुरधाममा यो महोत्सवकै रुपमा मनाउने परम्परा रहेको छ । पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिकारूपमा प्रसिद्ध मानिएको छ ।
कोजागराका राती भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातीमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने जनविश्वास रहेको छ । उदया तिथिलाई जानकी मन्दिरले मान्ने गरेका कारण अन्यले मनाउने कोजागरा भन्दा एकदिन ढिलो जानकी मन्दिरमा मनाइने जानकारी सो मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले दिएका छन् ।
यस अवसरमा महोत्तरी जिल्लाको रतौलीका स्वर्गीय ब्रहमदेव ठाकुरको घरबाट प्रत्येक वर्ष जस्तै यसपाली जानकी मन्दिरमा पाहुर ल्याइने छ । मन्दिरको पाहुरमा पान, मखान, लडु, खाजा, दही, चावल, दाल, तरकारीका अतिरिक्त रामजानकीको लुगा रहनेछ ।
स्वर्गीय ब्रह्मदेव ठाकुरको घरबाट जानकी मन्दिरमा परम्परागत हिसाबले विहिवार विहान पाहुर ल्याइनेछ । स्व.ब्रहमदेव ठाकुर परिवारका नविन ठाकुरले वर्षोदेखिको परम्परालाई हामीले निरन्तरता दिएका छौ, जानकी मन्दिरको थिथि अनुसार नै पाहुर ल्याइनेछ । यो परम्परा १ सय ४० वर्षदेखि निरन्तर चल्दै आएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार कोजागरा महोत्सवमा रामजानकीको चुमाओन (विशेष पूजा) गरिन्छ । जो दृश्य एकदमै आकर्षक हुने गरेको बताउनु भयो ।
मिथिलाञ्चलमा नव विवाहित बेहुला घरमा पनि कोजागरा हुने गरेको परम्परा रहेको छ । जीवनमा एक पटक मनाइने यस पर्वलाई लिएर बेहुलाहरु निकै उत्साहित रहने गर्छन । मिथिला क्षेत्रमा मङ्सिर, माघ, फागुन, जेठ र असार महिनासम्ममा विवाह भएका वर(बेहुला)लाई कोजागरामा चुमाउने गरिन्छ । बधु पक्षद्वारा वर पक्षलाई पठाइएको सामग्रीले यो पर्वमा रमाइलो गरी पासा र पचिसी खेल्ने परम्परा छ ।
चुमाओन विधिमा शरीरका शीर्षदेखि चरणसम्म पाँचवटा प्रमुख स्थानलाई चुमाउने गरिन्छ । हातका पाँच औंँला पञ्च महाभूतका प्रतीक मानिन्छ । पाँच स्थानको स्पर्शले शरीर ऊर्जावान हुने विश्वास मिथिला क्षेत्रमा पाइन्छ ।
शरद् पूर्णिमाको चन्द्रमालाई पूर्णयौवन सम्पन्न चन्द्रमा मानिन्छ । यस दिनको ज्योत्स्नामा अमृत तत्वको वर्षा हुने विश्वास रहेको छ । कोजागरा पर्वलाई जागृति पर्व पनि मानिएको छ । त्यसैले यस पर्वलाई विष्णुत्वको प्रतीककारूपमा समाजले स्वीकार गरेको पाइन्छ ।
मैथिल संस्कतिको एउटा प्रमुख अङ्ग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाई खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने चलन छ ।
कोजागरामा टाढा टाढाबाट मानिसहरु रामजानकीलाइ पान मखान चढाउन आउने गर्छन । साहित्यकार अयोध्यानाथ चौधरीका अनुसार यो पर्वमा भगवान विष्णुलाई स्मरण गरिन्छ । विष्णुको अवतार राम रहेका छन् त्यसैले जानकी मन्दिरमा र मिथिलाञ्चलमा ज्वाईलाई पनि विष्णुकै रुपमा लिने गरिन्छ ।
