

एजेन्सी ।
भारतको राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) का नेता तथा महाराष्ट्र राज्यका पूर्वमन्त्री बाबा सिद्दिकीको हत्यामा गुन्डा नाइके लरेन्स बिश्नोईको गिरोह जोडिएपछि बलिउड अभिनेता सलमानको सुरक्षामा कडाइ गरिएको छ ।
बलिउडसँग निकट सम्बन्ध रहेका तथा सलमानका सहयोगीसमेत रहेका बाबालाई शनिबार राति मुम्बईमा गोली हानी हत्या गरिएको हो । जसको जिम्मेवारी सलमानलाई ज्यान मार्ने धम्की दिइरहेको लरेन्स बिश्नोईको समूहले लिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार लरेन्स बिश्नोई गिरोहका सदस्य शुभु लोन्करले बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएका हुन् । शुभुले सामाजिक सञ्जालमार्फत स्पष्ट रूपमा सलमान खानको पनि नाम लिएका छन् । जसमा उनले जसले सलमान वा दाउद गिरोहलाई सहयोग गर्छ उसले आफ्नो ख्याल राख्नुपर्ने चेतावनी दिएका छन् ।
त्यसयता सलमानको सुरक्षामा थप कडाइ गरिएको हो । उनीसँगै उनको घरको सुरक्षा पनि बढाइएको छ । इन्डिया टुडेको रिपोर्टअनुसार सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा गार्ड तैनाथ गरिएको छ । यसैबीच बाबा सिद्दिकी हत्याको जिम्मेवारी लिएपछि लरेन्स बिश्नोईले जेलबाटै भिडिओ कलमा कुरा गरेको भिडिओ भाइरल भइरहेको छ ।
