Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नोबेल साहित्य पुरस्कार पाउने हान काङ र उनका कृति





सन् २०२४को साहित्य तर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङले पाउने भएकी छन् । काङको प्रशंसा गर्दै उक्त घोषणामा उनले ‘गहन काव्यिक गद्यमार्फत इतिहासका आघात र मानव जीवनका जर्जरतालाई उघारेर लेख्ने गरेको भनिएको छ ।

उनी यो पुरस्कार पाउने पहिलो एसियाली महिला तथा दोस्रो कोरियाली नागरिक हुन् । ५३ वर्षीया हान काङले प्राप्त गरेको साहित्यतर्फको नोबेल पुरस्कार कोरियाली जनताकै लागि ऐतिहासिक र गर्वको विषय रहेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हानको जन्म सन् १९७० मा कोरियाको ग्वाङ्जुमा भएको थियो । उनी सानै छँदा उनीहरू त्यहाँबाट बसाई सरेर सिओल गए । उनले योन्सेइ विश्वविद्यालयमा कोरियाली साहित्यको अध्ययन गरिन् । सन् ९० को दशकसम्म आई पुग्दा–नपुग्दै उनले कथा र कवितामा आफूलाई अभिव्यक्त गर्न थालिसकेकी थिइन् । उनको पहिलो उपन्यास ‘अ लभ अफ एओसु’ सन १९९५मा प्रकाशित भएको थियो ।

कोरियाका प्रतिष्ठित साहित्यिक पुरस्कार ‘हो–अम पुरस्कार’, ‘तोङ यिन साहित्यिक पुरस्कार’ र ‘यी साङ साहित्यिक पुरस्कार’ बाट उनी पहिले नै सम्मानित भई सकेकी छन् । उनी कोरियाली साहित्य अनुरागी र कोरियाली पाठकमाझ पहिलेदेखि नै चर्चित छिन् । यति मात्र होइन उनले साहित्यको अर्को सम्मानित पुरस्कार बुकर पनि पाएकी छन् ।

सन् १९०१ देखि २०२४ सम्म साहित्यतर्फ यो पुरस्कार ११७ पटक प्रदान गरिएको छ। जसमा १ सय २१ जना साहित्यकारले नोबेल साहित्य पुरस्कार प्राप्त गरेका छन्।  यसअघि सन् २०२३: नर्वेका लेखक यून फोसालाई ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेको’ भन्दै प्रदान गरिएको थियो। त्यसअघि  सन् २०२२: फ्रान्सेली साहित्यकार एनी एर्नोलाई ‘विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे  लेख्ने गरेको’ भन्दै समान गरिएको थियो।

विगतमा साहित्यतर्फको पुरस्कार अर्नेस्ट हेमिङ्वे, ग्याब्रअल गार्सिया मार्कोस र टोनी मोरिसनजस्ता उपन्यासकार तथा पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ टैगोर तथा ह्यारोल्ड पिन्टर र युजीन ओनील लगायत विश्व प्रसिद्व साहित्यकारले प्राप्त गरेका थिए।

सन् २०१६ मा गायक बब डिलनले साहित्यतर्फको पुरस्कार स्वीकार गर्लान् कि नगर्लान् भन्ने अन्योल देखा परेको थियो। अन्ततः उनले सन् २०१७ को जुन महिनामा उक्त पुरस्कारका लागि मन्तव्य दिएका थिए।

हान काङ यी दक्षिण कोरियाली लेखकबारे तपाईं अनविज्ञ हुनुहुन्छ भने आउनुस् उनका कृतिबारे केही कुरा बुझौँ ।

  • चर्चित पुस्तक

एक दशक अघि लेखेको पुस्तकका लागि उनले सन् २०१६ मा अन्तर्राष्ट्रिय बुकर पुरस्कार हात पारेकी थिइन् । सन् २०० ७मा ‘द भेजेटेरिएन’ शुरुमा दक्षिण कोरियाबाट प्रकाशित भएको थियो । यो उपन्यास उनको सन् १९९७ मा प्रकाशित कथा ‘द फ्रुट अफ माई वोमन’ मा आधारित थियो ।

पछि यसको अङ्ग्रेजीमा अनुवाद भयो । पुस्तकका अनुवादक देविराह स्मिथले पनि उनीसँगै अन्तर्राष्ट्रिय बुकर पुरस्कार पाए । उनीहरूको सहकार्य जम्न थाल्यो । यससँगै उनको अन्तर्राष्ट्रिय साहित्य जगतमा प्रभावशाली प्रवेश भयो ।

‘द भेजेटेरियन’ एक महिला एअङ–हाईको अद्वितीय कथा हो । जब उनले मध्यम वर्गको सामाजिक मान्यतालाई नाघ्दै मासु खान अस्वीकार गर्छिन् । उनले मासु खान इन्कार गरेपछि जुन तनाव उत्पन्न हुन्छ, त्यसले उनलाई सामाजिक बहिष्करणसम्म पुर्‍याउँछ । समाजमा उनको यो व्यवहारलाई अस्वाभाविक र पागलपनको रूपमा हेरिन्छ ।

मासु खान छोड्ने जस्तो सामान्य कुराले पनि ठुलो स्वरूप ग्रहण गर्दै गएपछि सिङ्गै परिवार नै सामाजिक बहिष्करणमा पर्न थाल्छ । उपन्यासमा यसै उतार–चढावलाई मसिनो गरी बुनिएको छ ।

हानले कोरियाली समाज भित्रको जर्जरतालाई सजीव ढङ्गले प्रस्तुत गर्न सक्नु नै यस उपन्यासको मुख्य विशेषता हो । उनले देविराह स्मिथको सहायतामा उत्कृष्ट गद्यसहित सामाजिक जीवनमा भएका आक्रोश र नक्कली सजावटलाई सन्तुलित ढङ्गले उपन्यासमा उकेरेकी छन् ।

  • नयाँ पुस्तक

तपाईं हानको पछिल्लो उपन्यास पढ्न चाहानु हुन्छ भने केही तत्त्वले यसमा प्रभाव पार्न सक्छन् । जस्तो तपाई कोरियाली भाषा पढ्न सक्नु हुन्छ भने वा मौलिक र अनूदित कृतिको फरकबारे ख्याल गर्नुहुन्छ भने तपाईंले सन् २०२१मा प्रकाशित ‘डन्ट से गुडवाई’ पढ्नु पर्ने हुन्छ ।

कोरियाली भाषामा पढ्न अप्ठेरो छ भने तपाईंले आगामी वर्षसम्म कुर्नु पर्ने हुनसक्छ । आगामी वर्ष उनको उपन्यास अनुवाद भई प्रकाशित हुने विश्वास लिइएको छ । यसको अङ्ग्रेजी अनुवाद इमिलि याए वोन र पैज अनिह्या मोरिसले गर्दैछन ।

त्यस भन्दा अघि सन् २०१६मा कोरियामा उनको ‘व्हाइट’ नामको उपन्यास प्रकाशित भएको थियो । यसलाई स्मिथले नै अङ्ग्रेजीमा अनुवाद गरेका थिए । यसको अङ्ग्रेजी संस्करणको नाम ‘द व्हाइट बुक’ राखिएको थियो । यद्यपि अन्तर्राष्ट्रिय पाठकका लागि उनको पछिल्लो उपन्यास ‘ग्रीक लेसन्स’ हो ।

गत वर्ष अङ्ग्रेजीमा प्रकाशित ‘ग्रीक लेसन्स’ शुरुमा सन् २०११मा कोरियामा ‘ग्रीक टाइम’ नाममा प्रकाशित भएको थियो । यो पनि स्मिथ र याए वनले नै अनुवाद गरेका हुन । यसको पनि विषय ‘द भेजेटेरियन’ जस्तै छ । यसले एक अदना बनाइएकी महिलाको अस्तित्व यात्राको कथा कहन्छ ।

Greek Lessons

यसमा भने एक मौन नारीले भाषाको क्षमता हासिल गर्ने प्रयास स्वरूप प्राचीन ग्रीक भाषाको तालिम लिन्छिन् । जब उनी आफ्नो व्यक्तिगत जीवनका क्षतिबारे सोच्न थाल्छिन् र त्यसमा आफ्नो वाणी गुमेको कुरालाई महसुस गर्छिन् त्यसपछि उपन्यास सुरु हुन्छ ।

उनका भावनाहरू उनलाई ग्रीक भाषा सिकाउने शिक्षकका भावनासँग उस्तै देख्न थाल्छन् । त्यी शिक्षकले पनि दृश्य र आफ्नो परिवार गुमाएका हुन्छन् । आकारमा सानो पुस्तक भएता पनि यसले हामीलाई ‘द भेजेटेरियन’ भन्दा अझै परसम्म लैजान्छ । हामीले प्रयोग गर्ने भाषाको प्रयोग गरेर हामीलाई मानवताको अन्तर्यको चिरफार गर्ने ठाउँसम्म लैजान्छिन् लेखक ।

  • त्यस पछि, 

हानका पुस्तकहरूको सूची लामो छ । तर, अङ्ग्रेजीमा अनूदित कृतिको सङ्ख्या तुलनात्मक रूपमा थोरै छ । दुई वर्ष अघि नोबेल पुरस्कार जितेकी एनी एर्नक्सकै जस्तो भयो भने उनका कृति पनि पुरस्कार पाएपछि व्यापक रूपमा अनुवाद भएर सहजै उपलब्ध हुन सक्छन् ।

‘द व्हाइट बुक’ ले पाठकलाई हानको साहित्यिक लेन्सबाट युरोप चिहाउन मद्दत गर्छ । यसको कथा दोस्रो विश्व युद्धपछिको पोल्याण्ड वरपर घुम्छ । यसमा ६५ सेता वस्तुहरूको माध्यमबाट पीडाको विहङ्गम चित्रण गरेकी छन् ।

म्यागी नेल्सनको ‘ब्लुएट्स’ पढेका जो कसैले पनि यस्तो शैली साहित्यिक रूपमा कति शक्तिशाली हुन्छ भन्ने बुझ्न सक्छन् । अर्को सुन्दर कृति ‘ह्युम्यान एक्ट्स’ ले हामीलाई ग्वाङ्जु विद्रोहको वरपर पुर्‍याउँछ ।

Gwangong Uprising

कोरियामा १८ मे १९८० मा भएको विद्यार्थी आन्दोलनलाई ग्वाङ्जु विद्रोह भनेर चिनिन्छ । यो विद्रोह सैन्य ‘कु’ बाट स्थापित हुने कोरियाली अधिनायकवादका विरुद्ध भएको थियो । यो विद्रोहलाई अमेरिकी सेनाको सहयोगमा दबाइएको थियो ।

हान काङका अनुसार ‘ह्युम्यान एक्ट्स’ उनको खास प्रतिनिधिमूलक कृति हो । यसले गैह्र–कोरियाली पाठकलाई कोरियाको इतिहास, ऐतिहासिकताका महत्त्वपूर्ण उकाली–ओरालीबारे महत्त्वपूर्ण अन्तर्दृष्टि प्रदान गर्छ ।