

काठमाडौँ ।
मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाहेकका तराई मधेस केन्द्रित सबै दलहरू सहभागी हुन लागेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।
लोसपाले तयारी नपुगेको भन्दै उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता नै गराएको छैन । लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले आफूहरूको तयारी नपुगेका कारण दल दर्ता नगराएको जानकारी दिए ।
लोसपाकै एक नेताका अनुसार मधेसका थोरै स्थानीय तह र अधिकांश पहाडका स्थानीय तहमा चुनाव हुने भएकाले पहाडमा चुनाव हार्नुभन्दा भागै नलिने निष्कर्षसहित आयोगमा दर्ता नगराएको हो ।
जनता समाजवादी पार्टी नेपालका महासचिव लालबाबु राउतले चुनावी प्रयोजनका लागि दल दर्ता भइसकेको बताए । तर उनले चुनावमा कसरी जाने भन्ने विषयमा छलफल हुन बाँकी रहेको बताए ।
उनले भने, ‘चुनाव प्रयोजनका लागि दल मात्र दर्ता भएको छ । चुनावमा कसरी अगाडि बढ्ने वा कसैसँग तालमेल गर्ने कि एक्लै लड्ने, कहाँ कहाँ उम्मेदवार उठाउने लगायतका विषयमा छलफल हुन बाँकी छ ।’ पार्टीका अध्यक्ष उपेन्द्र यादव देश बाहिरबाट बैठक बसेर सबै कुरामा छलफल गर्ने राउतको भनाइ छ ।
जनमत पार्टीका उपाध्यक्ष ई. दीपक साहले पनि चुनावमा भाग लिने निर्णय भएको भन्दै त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता समेत गरेको बताए । चुनावी तालमेलबारे कुनै निर्णय गरिनसकेको साहको भनाइ छ ।
‘अहिलेसम्म एक्लै चुनाव लड्ने मनस्थिति पार्टीभित्र रहेको छ, चुनाव नजिक आएपछि कस्तो माहौल बन्छ त्यसपछि निर्णय लिने कुरा हुन्छ तर अहिले एक्लै नै चुनाव लड्ने पक्षमा रहेका छौँ,’ उनले भने, ‘जनमत पार्टी पहिला पनि एक्लै चुनाव लडेर आएको पार्टी हो, यो उपचुनावमा पनि एक्लै चुनाव लड्ने सम्भावना छ । यद्यपि आधिकारिक निर्णय हुन बाँकी छ ।’
जसपाले पनि उपनिर्वाचनमा भाग लिने निर्णय गरेर दर्ता गरिसकेको छ । जसपाका महासचिव इस्तियाक राईले सबै ठाउँमा उम्मेदवार उठाउने निर्णय गरेको बताए ।
मधेस प्रदेशका विभिन्न जिल्लामा कांग्रेसले जितेका चार, माओवादी र लोसपाको एक–एक वटा वडा खाली छन् । रौतहटको ईशनाथ नागरपालिका वडा नम्बर–७ मा लोसपाले अध्यक्ष जितेको स्थानमा उपचुनाव हुन लागेको छ । तर यसपटक लोसपाले भाग नलिने भएकाले उक्त स्थानमा कसले बाजी मार्ला भन्ने स्थानीयमा चासो बढेको छ ।
