

जनकपुरधाम ।
नेपालीहरुको महान चाड विजयादशमीको रौनकता अहिले देशै भरी देखिएको छ । त्यसमा पनि जनकपुरधामको दशैँको अलग्गै महत्व रहेको छ । दशैँलाई झन आकर्षक बनाउनका लागि यहाँका युवा क्लवहरुले दिनरात मेहनत गरेर व्यवस्थापनमा लागेका हुन्छन् ।
जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दूर्गाको मूर्ति स्थापना गरी दशैंमा पूजाअर्चना गर्ने गरिन्छ । राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब जडान गरी पूरै जनकपुरधामलाई झकिझकाउ बनाइएको छ ।
राजदेवी मन्दिरमा आकर्षक पण्डाल र झिलमिली बत्तीहरु जडान गरिएको छ । जनकपुरधामको अन्य स्थानहरुमा मूर्ति स्थापना गरी पूजा अराधना गर्ने गरिन्छ । यद्यपि राजदेवी मन्दिरका साथै अमरखाना मन्दिरको पूजाको विशिष्ट महत्व रहेको छ । जसको व्यवस्थापन महावीर युवा कमिटी र राम युवा कमिटीले प्रत्येक वर्ष गर्दै आईरहेको छ ।
राजदेवी मन्दिरको पूजाको व्यवस्थापन महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ता र अमरखाना मन्दिरको पूजाको व्यवस्थापन राम युवा कमिटीका अध्यक्ष सरोज साहले हेर्दै आईरहेका छन् ।
तर जनकपुरधामका यी दुई युवा क्लव भने देशमा पुनः प्रजातन्त्र स्थापना भएपछि मात्रै राजदेवी माताको पूजाको व्यवस्थापन गर्न शुरु गरेको थियो । यस अघि युवाहरुलाई अन्य रचनात्मक कार्यमा प्रेरित गर्नका लागि मात्रै काम गर्ने यी युवा क्लवहरु २०४७ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछि मात्रै यसको व्यवस्थापन गर्ने जिम्मा आफ्नो हातमा लिएको महावीर युवा कमिटीका पूर्व अध्यक्ष प्रमोद चौधरीले बताए । यस अघि गुठी संस्थानले पूजाको सम्पूर्ण व्यवस्थापन गर्दै आईरहेको थियो ।
तर २०४७ सालमा प्रजातन्त्रका सेनानीहरुले सफलता प्राप्त गरेपछि गुठी संस्थान तथा सीडिओ कार्यालयमा गएर पूजा व्यवस्थापन गर्ने जिम्मा आफ्नो हातमा लिन सफल भयौँ चौधरीले भने ।
शुरु शुरुमा रामयुवा कमिटी र महावीर युवा कमिटीले संगै दुर्गा पूजाको व्यवस्थापन गर्ने गर्थे । तर युवा कमिटीहरु बिचमै विवाद हुन थालेपछि दूबै कमिटीका पदाधिकारीहरु बैठक गरेर महावीर युवा कमिटीले राजदेवी मन्दिर र रामयुवा कमिटीले अमरखाना मन्दिरको पूजा व्यवस्थापन गर्ने जिम्मा पाएका थिए । तर बलिप्रदानको सम्प्ुर्ण व्यवस्थापनको जिम्मा राम युवा कमिटीले हेर्दै आईरहेको छ । त्यस यता जनकपुरधामको दशैँमा आधुनिकताका साथै रौनकता थपिदै गईरहेको छ ।
