

जनकपुरधाम ।
शारदीय नवरात्री अन्तर्गत मिथिलानी महिलाहरु जनकपुरधामको प्रसिद्ध शक्तिपिठ राजदेवी मन्दिरमा ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् । जनकपुरधाम लगायत वरपरको गाउँ गाउँबाट आएका विवाहित महिलाहरु बुधबार बिहानैदेखि खोइछ भरिरहेको महावीर युवा कमिटीका पूर्व अध्यक्ष विनोद चौधरीले जानकारी दिए । उनका अनुसार राजदेवी मन्दिरमा बुधबार बिहानैदेखि खोइछ भरी चलिरहेको छ, बाँकी रहेका श्रद्धालुहरु शुक्रबारसम्म खोइछ भर्न पाउने छन् ।
नवरात्र शुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि गर्ने गर्छन् । भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने गर्छिन मान्यताका साथ खोइँछ भर्ने परम्परा मिथिलाञ्चलमा रहेको छ ।

खोइँछ दिनुलाई समृद्धि, परिपूर्णता, र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचरसँग हुन्छ । आँचर महिलाका लागि सबैभन्दा ठूलो निधि हो । आँचर यस्तो अमूल्य मानिन्छ, जसलाई बाँधिएमा खोइँछ र खोलेमा आँचर हुन्छ । खोइँछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ, जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान् शिवको प्रतीक मानिन्छ । जसको अर्थ ईश्वरको अनुकम्पा सधैँ रहिरहने र बेसारलाई विष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ ।
उसोे त मिथिलाञ्चलमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जानेबेलामा पनि खोइँछ भर्ने परम्परा रहेको छ । यो विधि कुलदेवता र देवीको मन्दिरमा गरिन्छ । कुलदेवता र देवीको मन्दिरमा खोइँछ भर्नुको अर्थ कुलदेवता र देवीलाई साक्षी राखी सौभाग्यको आराधना र संकल्प गर्नु हो ।


