

जनकपुरधाम ।
मिथिलाञ्चलमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो । जुन दशैँको समयमा गर्ने गरिन्छ । पूर्णतान्त्रिक विधि अनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व रहेको छ ।
घटस्थापनादेखि विजय दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रहेको छ । यसको बनावट र स्वरुपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ ।
बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो त्यसकै नमूना हो । टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँ बायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई संकेत गर्दछ । महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्न सफल भइन भने नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ । त्यसै कारण सो घैँटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रुपमै नृत्य गरिने गरिन्छ ।
झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अदभूत वातावरणको निर्माण हुन्छ । नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनुका साथै धम्कीसमेत दिइने गरिन्छ । बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिको सुरक्षा हुने जनविश्वास रहेको सांस्कृतिकविद् डा. रेवतीरमण लाल बताउँछन् ।
झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा सहितका जिल्लामा गरिने गरिन्छ । त्यस्तै भारतीय मिथिला क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकोमा राखी नृत्य गर्ने गरिन्छ ।
झिझियाको इतिहास
झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । घैँटोमाथि बल्दै गरेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रदर्शन झिझिया नृत्य हो । समाज रुपान्तरणको सँगै लोकनृत्यहरु गायब हुन थालेका छन् । तैपनि गाउँघर तथा सहर बजारमा यसलाई जीवन्त राख्नका लागि भए पनि वर्षेनी झिझिया नृत्यको आयोजना गरिन्छ । केही वर्ष पहिलेसम्म तराई क्षेत्रमा बोक्सी प्रकरणका घटना सार्वजनिक हुँदै आए पनि पछिल्लो समय कम हुँदै गएको छ । बोक्साबोक्सी जस्तो कुप्रथा समाजमा बढ्दै गएको जनचेतनाका कारण कमी हुँदै गएको हो ।
समाजमा बोक्सीको उपस्थिति रहेको भन्दै सातौं वा आठौं शताब्दीतिर बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको सुरुवात् गरिएको इतिहासकारहरु बताउँछन् । गाउँघरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहँदा सहरबजार समेत झिझिया नृत्यबाट अछुतो रह्न सकेको छैन ।
जनकपुरधाममा अहिले प्रत्येक राति समूह समूहमा महिलाहरु झिझिया नृत्य गरिरहेको त्यसै देख्न सकिन्छ । दसैँको समयमा विभिन्न क्लबकै पहलमा झिझिया नृत्यको आयोजना गरिँदै आएको छ ।
झिझिया नृत्य किन गरिन्छ ?
समाजमा प्रचलित जनविश्वासअनुसार बोक्सी महिला जादु मन्त्र सिकेर, त्यसको सिद्धीका लागि गाउँका जन्मजात बालबालिकालाई टुनामुनाद्वारा मारेर स्मशानमा त्यही मरेको बच्चालाई जिउँदो पारी नाङ्गै नृत्य गर्ने गर्छन् । दसैँको समय बोक्सीको सिद्धी प्राप्त गर्नका लागि उचित समय भएको हुनाले बोक्सीका घटना बढी हुने गरेको मानिन्छ ।
घटनामा बृद्धि हुन थालेपछि महिलाले नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुवात् गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्ने बोक्सीको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ । आफ्ना सखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको मुख्य उद्देश्य रहेको छ ।
यसको अर्को उद्देश्य दसैँको समयमा देवी दुर्गालाई रिझाउनु पनि हो । झिझिया नृत्य गर्दै गाइने गीतमा बोक्सीलाई गाली गर्नुका साथै भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीत पनि गाइन्छ ।
त्यसमा प्रत्येक दसैँमा आफ्ना खास सवारीसाथ आउने भगवतीको श्रृङ्गार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीत गाइने गरिन्छ ।
नृत्य पूर्वको तयारी
झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्छ । एउटा वा दुईटा स्वच्छ घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टितेल हालेर बालिन्छ । त्यसपछि टाउकोमा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर, टाउकोमा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ ।
अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ–
सभ्य गुरुक बन्दे पाउँ ।
बजर केवाडी ।
बजर बान्हो दशो दुआरी ।
मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।।
यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकोमा आगो बलिरहेको घैंटो राखेर विना हातको सहारा लिइ नाच्दैं ब्रह्मस्थानमा पुगेर सबभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् ।
ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया औपचारिकरुपमा सुरु हुन्छ । त्यसपछि घर–घरमा गएर नृत्य देखाउने परम्परा छ । प्रत्येक घरबाट पूर्णाहुतिका लागि अन्न रुपैयाँ चन्दा माग्ने गर्छन् । त्यही मागिएको रकम जोडेर विजयदशमीका दिन पूजापाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य बिसर्जन हुन्छ ।
झिझियाको सबल पक्ष गीत
झिझिया नृत्यको सबैभन्दा सबल पक्ष सो नृत्यमा गाइने गीत नै हुन् । झिझिया नृत्यमा पहिला दुई खाले गीत हुन्छन् । पहिलो देवी स्तुति र दोस्रो बोक्सीलाई गाली गर्ने तथा धम्काउने गीत हुन्छन् ।
लील रंग डालीया, सबुजेङ्ग ओहरिया ।
मैयागे भीडि गेलाह बत्तीसो कहार ।
कमरुआ देश मैआ कब जइहे गे ।।
माथीका यी गीतको वाक्यले देवीको स्तुती गरेको पाइन्छ । बोक्सी भर्खरै मृत्यु भएका बालकलाई चिहानबाट झिकी उसलाई जिउँदो पारेर नांगै नाच्ने गरेको जनविश्वास पाइन्छ । जो बालक उसकै टुनामुनाद्वारा मारिएको हुन्छ ।
बरहमके पछुआरिए डैनियां मत करिहें श्रृङ्गार गे ।
बमेलेल आरती दहिने तरुआरि गे ।
नचैत नचैत गेले डैनियां सीमा ओइ पार गे ।।
सँगे सँगे गेलौ डैनियां राजा कोतवाल गे ।।
देख लेलकौ खागै डैनियां नङ्टे उघार गे ।।
यो झिझियाको गीतको मध्यमबाट बोक्सीलाई गाली गरिने गरिन्छ ।
कोठाके उपर डैनिया,
खिडकी लगैले ना,
खिडकी ओत्ते डैनिया,
गुनावा चलैले ना ।
आगे किछु होएतौ डैनिया,
गदहा पर चढैवौ गदहा चढाए
डैनियां नमुहां हसैबौ ना ।।
बोक्सीलाई धम्काउने काम पनि गीतकै माध्यमबाट गरिन्छ । खबरदार ! यदि, तिमी खिडकी पछाडिबाट टुनामुना गरीस जादु चलायौ भने तिमीलाई गधामाथि चढाएर गाउँमा घुमाउँछौ र नाम बदनाम गराउँछौ यो गीतको अर्थ हो । समाजमा बोक्सीलाई कतिसम्म घृणित मानिन्छ भन्ने यो कुरा यो गीतको शब्दबाट स्पष्ट हुन्छ ।
डैनिया बेटा मरल पडल है,
अन्हार घर झिझडी ।
कोइ नै बाँस कटबैया है
अन्हार घर झिझडी ।।
यो गीतको शब्दको अर्थ घरमा बोक्सीको छोरा मरेको छ, बाँस काटनेसम्म कोही छैनन भन्ने हो ।
मैथिलीका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद डा. राजेन्द्र विमल भन्छन् ‘झिझिया गीतको एउटा अर्को पाटो पनि छ र त्यो मनोरञ्जनात्मक र व्यंग्यात्मक शैलीको पाटो हो ।’ झिझिया नृत्य देखाउँदै गाउँका भद्रभलादमी कहाँ जाँदै गर्दा पूर्णाहुतिको लागि चन्दा पनि माग्ने चलन छ ।
परम्परागत लोकविश्वासमा आधारित कैयौँ यस्ता लोकगीत लोपोन्मुख अवस्थामा रहेका छन् । सामाजिक संस्कारमा रहेको अन्धविश्वासका प्रतिछायाँ दर्शाउने यस किसिमका लोकगीतलाई समेत सांस्कृतिक दृष्टिले जगेर्ना गर्नुपर्ने आवश्यक्ता रहेको विमलको भनाई छ ।
दसैँको समयमा प्रस्तुत गरिने झिझिया नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान गर्न सामथ्र्यवान् रहेको पाइन्छ । ५ वर्षका बालबालिकादेखि लिएर लगभग सबै उमेर समूहका महिला यस नृत्यमा सहभागी हुने गर्छन ।
झिझियामा लुकेको दर्शन
झिझिया नृत्यलाई कतिपयले अन्धविश्वासको रुपमा समेत प्रचार गर्दै आईरहेका छन् । यस्तै प्रचारका कारण मिथिलाको लोक परम्परा झिझिया नृत्य लोप हुँदै गईरहेको छ । यद्यपि मैथिलीका बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले झिझिया नृत्य अन्धविश्वास नभई यस भित्र गहिरो दर्शन लुकेको बताउँछन् ।
झिझिया नृत्य बोक्सी धपाउने उद्देश्यले गर्ने गरिएको प्रचारवाजीका कारण यो अन्धविश्वासले भरिएको नृत्य रहेको भन्ने जमात पनि छन् । तर साहित्यकार विमल सो तर्कसंग सहमत छैनन् । झिझिया नृत्यमा घैटोमा रहेको प्वालहरु कुनै बोक्सीले गन्न सफल भइन भने नृत्य गर्ने महिला ठहर्रै हुने लोकविश्वास छ । तर विमलका अनुसार नृत्यमा थप उर्जा प्रदान गर्नका लागि यस प्रकारको विश्वास फैलाइएको पाइन्छ ।
झिझिया नृत्यमा संलग्न महिलाहरुमा थप उर्जा आओस त्यस उद्देश्यले यस प्रकारको लोकविश्वास फैलाइएको हुन सक्ने विमल बताउँछन् ।
झिझिया नृत्यमा प्रयोग हुने घैटोले पञ्चभौतिक रुपी शरिर, त्यसमा प्रयोग हुने दियो चेतनाको प्रतिक रहेको उनी बताउँछन् । झिझिया नृत्य गर्ने टोलीले दियोमा घर घर मागेर तेल हाल्ने परम्परा छ । यसले परिवार र समाजको सहयोग बिना चेतना रुपी दियोको विकास हुन सक्दैन भन्ने सन्देश दिदै आएको विमलको भनाई छ ।
उनका अनुसार झिझिया नृत्यको प्रारम्भ घट नृत्यको परम्पराबाट शुरु भएको छ । वैदिक परम्पराको रुपमा रहेको घट नृत्य नै कलान्तरमा गएर मिथिलामा झिझिया नृत्यको स्वरुप धारण गरेको मान्न सकिन्छ । यसका साथै यो नृत्यमा तान्त्रिक विधिको विशेष महत्व रहेको छ र यो मिथिलाको लोक परम्पराको रुपमा विस्तारै विकास हुन पुग्यो । विमल भन्छन् वैदिक, लोक तथा तान्त्रिक परम्पराको मिश्रणले झिझिया नृत्य महान सन्देश दिदै आई रहेको छ ।
