

जनकपुरधाम ।
अहिले विश्वभरीका हिन्दु धर्माबलम्बी शारदीय नवरात्रीको रंगमा रंगिएका छन् । शारदीय नवरात्रीको आज छैठौँ दिन माता कात्यायनीको पूजा अराधना गरिदैछ । छैठौँ दिन आजै मिथिलाञ्चलमा शारदीय नवरात्री अन्तर्गत ‘बेलनौती’ गर्ने परम्परा रहेको छ ।
षष्ठी तिथिका दिन मध्यान्हपछि पूजा स्थलबाट बाजागाजाका साथ नजिकको बेलको रुखमा चढेर एउटा एउटै फलमा फलेको दुई बेललाई पवित्र कपडाले बाँधी मिथिलामा ‘बेलनौती’ गर्ने परम्परा रहेको छ ।
षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फललाई पुनः सप्तमी तिथिका दिन एकाबिहानै टिपेर पूजा स्थलमा भित्रयाउने परम्परा रहेको छ । जसलाई मिथिलाञ्चलमा बेलतोडी भन्ने गरिन्छ । यस पटक षष्ठी तिथि भोली पनि सूर्योदयकालमा पर्ने भएकाले बेलनौती अधिकांश स्थानमा भोली गरिने बताइएको छ ।
