

जनकपुरधाम ।
पर्साको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नति गर्न माग गर्दै एक सातादेखि धर्ना जारी रहेको छ ।
अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माँग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले गत आइतबारदेखि धर्ना कार्यक्रम शुरु गरेको थियो । शुक्रबार पनि दुई घण्टाको लागि अस्पताल परिसरमा धर्ना दिइएकोे राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानीले बताए ।
आफूहरुको माग पूरा नभएसम्म धर्ना जारी रहने उनले बताए । पोखरिया अस्पतालमा सहज उपचार सेवा तथा अस्पतालमा चिकित्सकदेखि ओषधिलगायत ब्यवस्थाबारे लामो समयदेखि माग गर्दै आए पनि कुनै सु्नुवाइ नभएपछि दबाब स्वरुपा अस्पताल परिसरमै धर्ना दिइएको समानीले बताए ।
अस्पताल भवनको निर्माण,अस्पताललाई कर्मचारी भर्ती केन्द्र हुनबाट रोक्नको लागि धर्ना शुरु गरिएको उनको भनाइ छ । प्रदेश सरकारका मुख्यमन्त्री वा संघीय सरकारका मन्त्री नआए सम्म आफुहरुको धर्ना जारी रहने समानीले बताए ।
