सुजीतकुमार झा ।
जनकपुरधाम
जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवीमा धुमधामका साथ पूजा भइरहेको छ । सो मन्दिरमा भक्तजनहरुको अवेरराती सम्म भीड हुने गरेको छ । दशैमा राजदेवी सहित जनकपुरधामका अधिकांश शक्तिपीठलाई विशेष रुपले सजाइएको छ । महावीर युवा कमिटीका पूर्व अध्यक्ष विनोद चौधरीले दशैमा यो मन्दिरहरुको पूजाका कारण हजारो व्यक्ति जनकपुरधाम आउने गर्छन बताए । अहिले बाहिरबाट आएका पर्यटकहरुका कारण जनकपुरधाम भरिएको छ । कलशस्थापना देखि विजयदशमीसम्म राजदेवीमा विशेष पूजा हुने गरेको छ । दशैंको पहिलो दिननै हजारो व्यक्तिले राजदेवीको दर्शन गरेका छन् ।
राम युवा कमिटीका पूर्व अध्यक्ष शम्भु प्रसाद साह ‘प्रेमी’ले मन्दिरको सजावटमै २० लाख भन्दा बढीको खर्च हुने गरेको छ बताए । सजावट र पूजामा लाग्ने सम्पूर्ण खर्च स्थानीयवासीहरुले चन्दाको रुपमा दिने गर्छन । रंगीचंगी बल्व र पण्डालहरुका कारण जनकपुरधामका शक्तिपीठहरु दुलही झै सजाइएको छ । राजदेवीलाई केही व्यक्तिले मिथिला नरेश जनकको कुलदेवीको रूपमा यहाँ पूजा गर्ने गरिन्छ । मन्दिरको मूलद्वारमै जनकको कुलदेवी लेखिएको छ । तर, कतिले नगरकी देवी रहेको बताउँदै आएका छन् । रामायणमा जनकका कुलदेवता महादेव र कुलदेवी गौरी रहेको उल्लेख छ । वैष्णवी देवीको चर्चा पनि रहेको छ ।
राजदेवीमा अष्टमी तिथिका राती १५ हजार भन्दा बढी बोकाको वली दिइने गरिएको छ । राजदेवी मन्दिरका महन्थ राम गिरिले पहिला भन्दा यसपाली वलिको संख्या पनि बढने बताए । शक्तिपीठहरुका लागि युवा क्लवहरुले सयौ स्वयंसेवक परिचालन गरेका छन ।