जनकपुरधाम ।
लगातारको वर्षाका कारण सप्तकोशी नदीमा बहाव उच्च भएको छ । नदिको बहाव उच्च भएसंगै ब्यारेजमा पानी खतरा निशानमाथी पुग्नै लागेकाले ढोकाहरु खोलिएका छन् । कोशी ब्यारेजका ढोका खोलिएसंगै बिहारका ८ जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बिहार सरकारको जलसंसाधन विभागले कोशीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको हो । विभागले शनिबार १२ बजे कोसी व्यारेज भएर छ लाख ८१ हजार क्युसेक पानीको बहाव हुनसक्ने बताएको छ । सुपौल, सहरसा, मधेपुरा, मधुवनी, दरभंगा, भागलपुर, खगडिया र कटिहार जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरिएको विभागले जानकारी दिएको छ ।
कोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ ढोका खुल्ला गरिएको छ । आज बिहान ८ बजेको मापन अनुसार सप्तकोशीको पानीको बहाव ४ लाख १९ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।