काठमाडौं ।
सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुईजना न्यायाधीश सिफारिस भएका छन् ।
न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मख्य न्यायाधीश नित्यानन्द पान्डेलाई सिफारिस गरेको हो ।
सर्वोच्च अदालतमा हाल ४ जना न्यायाधीश दरबन्दी रिक्त छ । अर्को साता प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पनि अवकाश पाउँदैछन् ।
निरौला २०७७ माघ १२ गते मुख्य न्यायाधीश नियुक्त भएका थिए । पाण्डे गत मंसिर ६ गते मुख्य न्यायाधीश नियुक्त भएका हुन् । मुख्य न्यायाधीशको वरीयतामा छैटौँ नम्बरमा रहेका पाण्डे सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका हुन् ।
कन्चनपुरका पान्डे २०७० सालमा न्याय सेवामा प्रवेश गरेका हुन् । खोटाङका निरौला भने २०५२ मंसिर २४ गते न्याय सेवामा प्रवेश गरेका थिए । २०२८ माघ २५ गते जन्मिएका निरौला सर्वोच्चको न्यायाधीश नियुक्त भए २०९३ माघसम्म जिम्मेवारीमा रहनेछन् । यस्तै २०२२ फागुन १४ गते जन्मिएका पान्डे नियुक्त भएको अवस्थामा २०८७ फागुनसम्म सर्वोच्चको न्यायाधीश रहनेछन् ।