जनकपुरधाम ।
मधेसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सय दिनको अवधिमा भएका कामहरुको विवरण सार्वजनिक गरिएको छ । मन्त्रालयबाट यो अवधिमा भएका कामहरुमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस पठनपाठनकालागि ५० सीटको स्वीकृति पाउनु, एक हजार दिर्घरोगीलाई १ लाखको दरले १० करोड रुपैयाँ भुक्तानी, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालको स्तरोन्नतिलाई समावेश गरिएको हो ।
त्यस्तै स्थानीय तहबाट मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएका चारवटा अस्पतालहरू सर्लाहीको धनकौल, पर्साको पोखरिया, सप्तरीको भारदह, धनुषाको डुमरिया सञ्चालन हुने प्रक्रियामा रहेको, प्रदेशभित्रका सबै प्रकारका अस्पतालको बायोमेडिकल उपकरणहरूको परीक्षण र मर्मतसम्भार गर्न बायोमेडिकल वर्कसप निर्माण गरिएको, सेट एनेस्थेसिया वर्क स्टेसन मेसिन खरिद गरी सिरहा अस्पताल, जलेश्वर अस्पताल, मलंगवा अस्पताल र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वितरण गरी सञ्चालनमा ल्याइएको, अर्थोपेडिक विभागका लागि ५ वटा अर्थोपेडिक सेट खरिद गरी प्रादेशिक अस्पताल सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालमा पठाइएको लगायतका कामहरु समावेश गरिएको छ ।