

एजेन्सी ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको तर त्यसमा सफल नभएको दाबी गरेका छन् । तर उसले फेरि प्रयास गर्नसक्ने आशंका पनि व्यक्त गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो ज्यानलाई इरानबाट ठूलो खतरा रहेको आरोप लगाएका हुन् ।
उनले लेखेका छन्– सम्पूर्ण अमेरिकी सेना हेर्दै र पर्खिरहेको छ । इरानले प्रयास गरेको थियो तर असफल भयो । तर उसले फेरि प्रयास गर्नेछ । यो अवस्था कसैको लागि राम्रो होइन । म धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु । म यसअघि कहिले यति धेरै मानिसले घेरिएको थिइनँ ।
आफ्नो सुरक्षाका लागि थप रकम विनियोजन गरेकोमा उनले अमेरिकी संसद्लाई धन्यवाद भनेका छन् ।
उनले अगाडि लेखेका छन्– रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरू यस मुद्दामा एकजुट भएको देख्दा राम्रो लाग्यो । तर, पूर्वराष्ट्रपतिलाई हमला भयो भने त्यो आक्रमणकारीले आफ्नो मृत्युलाई निम्तो दिनुजस्तै हो ।
अमेरिकी राष्ट्रपति चुनावअघि ट्रम्पको यस्तो भनाइलाई कतिपयले उनको नयाँ स्टन्टका रूपमा लिएका छन् । तर, ट्रम्पको यो भनाइपछि अमेरिकी राष्ट्रपतिको सुरक्षाका विषयमा बहस सुरु भएको छ ।
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिससँग प्रतिस्पर्धा गर्दै छन् ।
