जनकपुरधाम ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा फरार भएको घटनाको छानबिन गर्न छुट्टा छुट्टै दुई छानविन समिति गठन गरिएको छ । मधेस प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले अलग अलग छानविन समिति गठन गरेको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । गुरुङका अनुसार समितिलाई १५ दिन म्याद दिइएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायव उपरीक्षक रञ्जन अवाको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।
आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयको भेन्टिलेसन फोडेर ९ जना थुनुवा फरार भएका थिए ।
थुनुवा फरार भएको घटनापछि मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया लगायतले हिरासत कक्षको अवलोकन समेत गरेका छन् ।
थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।