सुजीतकुमार झा ।
जनकपुरधाम
गर्मीका कारण जनकपुरधाम क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । गत दूई दिनदेखि जनकपुरधाम बजारमा चहलपहल घटेको छ भने दर्जनो विद्यार्थी बेहोस भएका छन् ।
कति विद्यार्थी विद्यालयमा बेहोस भएपछि प्राथमिक उपचार गरी घर पठाइएको छ । श्री राष्ट्रिय आवि विद्यालय भरडियामा ३ जना विद्यार्थी र एकजना शिक्षक बेहोस भएको जानकारी धनौजी गाउँपालिकाका वडा सदस्य रोशन मिश्रले मोडेल खबरलाई जानकारी दिएका छन् । सो विद्यालयका शिक्षक दिनेश मण्डल पनि बेहोस भएका छन् ।
गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् । गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले हसपुर नगरपालिकामा नगर प्रमुख प्रदीप यादवको आदेशमा २०८१ असोज ८ गतेदेखि असोज ११ गते सम्म बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बुधेश्वर यादब बताउनुभयो । गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिनुभयो ।
गर्मीकै कारण क्षीरेश्वरनाथ नगरपालिकाले समेत विदा दिने निर्णय गरेको छ । नगरपालिकाले गर्मी र जीतिया पर्वलाई ध्यानमा राखि मंगलबार र बुधबार नगरपालिकाभरिका समुदायिक तथा नीजि विद्यालयहरु बन्दको घोषणा गरेको हो ।
असोज १० गते देखी १६ गतेसम्म बिहानी सत्रमा विहान ६ः०० बजेदेखी ११ः३० सम्म विद्यालय पठनपाठन संचालन गर्न निर्देशन दिएको हो । गर्मीका कारण जनकपुरधाम नगरमा रहेका विद्यालय बन्द गराउन प्याव्सन र एनप्याव्सनले मांग गरेको छ । एनप्याबसनका अध्यक्ष दीपक ठाकुरले यस्तो गर्मीमा विद्यार्थीहरु बिमार पर्न सक्छ यो सत्यलाई सबैले बुझिदिनुपर्छ बताउनुभयो ।
बालबालिकाहरु एकै ठाँउमा राख्दा गर्मीले झनै समस्या पार्ने, संक्रमण फैलिने डर त छँदैछ, अर्कोतिर कतिपय विद्यालयका भौतिक संरचनासमेत विद्यार्थीमैत्री नहुँदा झन् ठूलो स्वास्थ्य समस्या ल्याउन सक्ने खतरा रहेको छ । बालबालिकाहरु शिक्षकहरुसँग सहज ढंगले आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने हुन्छन् । कतिपय बालबालिकालाई आफ्नो ज्यानले के मागिरहेको छ भन्ने पनि थाहा हुँदैन । थाहा पाए पनि भन्न सक्दैनन् । अझ साना बालबालिका त थाहा पाएर पनि शीतल ठाउँमा जान सक्दैनन् । अत्यधिक तापक्रम र तातो हावाले छालाको समस्या, आँखाको समस्या, खानेपानीबाट हुने समस्या निम्तिन सक्छन् । तापक्रम बढ्दा तातो हावाका कारण सुख्खापन बढ्छ ।
जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञ डा. वलराम मिश्रका अनुसार शरीरको पानी पसिनाबाट जाँदा आलस्य हुने, हिंड्न मन नलाग्ने, निद्रा बढी लाग्ने समस्या गर्मीको समयमा देखिन्छ । यसैगरी बान्ता हुने, बोलेको थाहा नहुने, काम्ने, बर्बराउने, बेहोस हुनेसम्मका समस्या बालबालिकामा गर्मीका कारण हुने गर्छ ।
शरीरको तापक्रम ४० डिग्री सेन्टिग्रेड वा १०४ फरेनहाइटभन्दा बढी भएमा बालबालिकामा बर्बराउने, काम्ने समस्या देखिन्छ । उनीहरु रोएको देखिए विशेष ख्याल गर्नुपर्छ । बन्दकोठामा गुम्सिएर पनि यस्तो समस्या आउँछ ।गर्मीमा छालाको समस्या, सन वर्न, सुख्खा हुने, लुगा कम लगाउँदा वा जता पनि जाँदा बालबालिकालाई कीरा फट्यांग्राले टोक्ने, एलर्जी हुनेजस्ता समस्या हुन सक्छन् । डा. मिश्रका अनुसार बालबालिकालाई प्रशस्त पानी खुवाउन अभिभावकहरुले नै जोड गर्नुपर्छ । कम्तीमा दैनिक पाँच–सात पटक पिसाब गरे नगरेको ख्याल गर्ने, पिसाब कम गरेको वा गाढा पहेंलो गरेमा पानीको मात्रा नपुगेको बुझ्नुपर्छ । गर्मी मौसममा खाना चाँडै बिग्रिने भएकाले बिहानको बेलुका वा बेलुकाको खाना बिहान सकभर नखानु राम्रो हुन्छ । सबैको घरमा फ्रिज नहुन सक्छ । त्यस्तो अवस्थामा बासी नराख्ने गरी खानेकुरा बनाउँदा त्यसले बालबालिका र परिवारका अन्य सदस्यलाई पनि राम्रो गर्छ ।
गर्मीमा नवजात शिशुको हकमा अझै बढी संवेदनशील हुनुपर्छ । उनीहरुले बोलेर आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने भएकाले हामीले नै भाव बुझ्नुपर्छ । उच्च ज्वरो आउने, दूध नखाने, रोएको रोयै गर्नेजस्ता समस्या आउन सक्छन् । गर्मीमा दूध खुवाउने आमा स्वयंको शरीरबाट पनि बढी पानी पसिनाका रुपमा खेर जाने भएकाले दूधको मात्रा कम हुन जान्छ । त्यसको असर बच्चालाई पर्न सक्छ ।
‘अलि ठूला बालबालिकालाई प्रशस्त पानी वा फलफूलको जुस खुवाउनुपर्छ । बेलाबेलामा जीवनजल पनि खुवाउन सकिन्छ । गर्मीमा नुनको मात्रासमेत पसिनाबाट जाने भएकाले नुनको मात्रालाई सन्तुलनमा राख्न यो जरुरी छ,’ डा. मिश्रले बताउनुभयो । घाममा सकभर नजाने, जानै परे क्याप लगाउने, छाता ओढेर पानीको बोतल आफूसँग राख्ने, साँझ र बिहान मात्रै बालबालिकालाई आफैंसँग राखेर डुलाउने गर्नुपर्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ ।