जनकपुरधाम ।
रौतहटको राजपुर नगरपालिका–४ स्थित राजपुर गाउँमा झाडापखालासँगै हैजाको संक्रमणबाट ५ दर्जनभन्दा बढी बिरामी परेका छन् । संक्रमण नियन्त्रणमा लिन आइतबार जिल्ला प्रशासनले केही गाउँ सिल गरेको छ । प्रशासनले अत्यावश्यकबाहेक सवारी आवागमनमा रोक लगाउँदै जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको हो ।
प्रशासनले राजपुर–४ स्थित जोब्रर चोकदेखि मदनी चोक, शेख अब्दुल्लाहको खरिहानदेखि डा. नुरुल होदाको घरसम्मको क्षेत्र निषेधित क्षेत्र घोेषणा गरिएको हो । उक्त क्षेत्रमा आइतबारदेखि माछामासु ओसारपसार र बिक्रीवितरण पनि रोकेको छ । बिरामी बढ्न थालेपछि पालिकाले दुई दिनअघि ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गराउँदा ११ जनामा हैजाको संक्रमण देखिएको राजपुरका शाखा अधिकृत बैजु ठाकुरले बताए । उनका अनुसार पालिकामा ६२ जनामा झाडापखाला र हैजाको संक्रमण देखिएको छ भने २७ जनाको राजपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले हैजाको संक्रमण रोकथाम र अन्य समुदाय, क्षेत्रमा फैलन नदिन प्रभावित क्षेत्रमा तत्काल आवतजावतमा रोक र सिल गरिएको बताए । ‘तोकिएको क्षेत्रमा अत्यन्त जरुरी कामबाहेक स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको अनुमतिबेगर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलाई नजान भनेका छौं,’ उनले भने, ‘त्यस क्षेत्रमा थप स्वास्थ्यकर्मी परिचालन गरेर हैजा संक्रमण रोक्ने प्रयास भइरहेको छ ।’