यसपाली ३६ घण्टाको जितिया पर्व हुने

संतानको दीघार्यूका लागि मैथिल महिलाहरुको प्रमुख पर्व





सुजीतकुमार झा ।
जनकपुरधाम
संतानको दीघार्यूका लागि मैथिल महिलाहरुद्वारा गरिने जितियामा यसपाली ३६ घण्टा कठोर ब्रत हुनेछ । अष्टमी भरि पानीपनि नखाने मान्यता रहेको छ । विश्वद्यिालय पंचागका अनुसार अष्टमी मंगलवार नेपाली समय अनुसार साँझ ६ बजेर २१ मिनेटमा शुरु भइ बुधवार साँझ ५ बजेर २१ मिनेटसम्म हुनेछ ।
वीरगञ्जका पण्डित दिनेश मिश्रका अनुसार अष्टमी मंगलवार साँझ शुरु भएपनि प्रदोषव्याप्नी ब्रत भएका कारणले मंगलवार बिहानदेखि नै ब्रत शुरु गरि बुधवार साँझसम्म बस्नुपर्छ ।
कठोर ब्रतको रुपमा रहेको जितियाको आज पहिलो दिन हजारो महिलाले जनकपुरधामको गंगासागरमा नुहाइ स्वर्गीय भएका पूर्वजलाई तेलखरी चढाएका छन् । आज बिहानदेखि सो पोखरीमा नुहाउने र पूजा गर्नेहरुको भीड़ लागेको थियो । आजको तिथिलाई महिलाहरुले नहायखाए भन्ने गर्छन । नहाए खाएको अर्थ हुन्छ चाखो हुनु । यस दिन व्रतार्थी स्नानादी गरी पवित्र भई घिरौँलाको पातमा तोरी वा सर्स्यु‌को तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।
स्वर्गीय भएका महिला पूर्वजको नाउँमा आज घर–घरमा महिला लाई भोजन गराउने परम्परा रहेको छ ।
संस्कृतमा ’जिवित पुत्रिका’, हिन्दीमा जियतिया र मैथिल महिलाहरू ’जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको (अष्ठमी तिथीको कृष्ण पक्ष)को दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु ’निर्जला’ अर्थात पानी समेत सेवन नगरिकन भगवान ’जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।
यसैदिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने परम्परा रहेको छ ।
शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने चलन छ ।
। अष्टमी तिथि सुरु हुनु पूर्व ब्रती महिला घरका सवै सदस्य सँगै भित्तामा अडेस लगाई च्युरा दही खाने गर्छन । व्रतको क्रममा पानी पनि नखाने परम्परा रहेको छ ।  महिलाहरुले स्याल र चिलको कथा सुन्ने पनि गर्छन । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ। सांस्कृतिविद डा. भोगेन्द्र झाले यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने बचाउँछन्। पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिंवगत पितृलाई पिण्ड जस्तै चढाउँछन्।
जितियाको कथा
एकादेशमा नर्मदा नदीको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो र उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा वलुहटा नाम गरेको एउटा मरुभुमी पनि थियो, त्यहि किनारमा एउटा पाखैरको रुख थियो जसमा पोथी चील चरा बस्थि जसको रुखमुनी पोथी स्यालको वास थियो । उनिहरु दुवै साथीसाथी भए र एकदिन गाउँका अरु महिलाहरुले जस्तै उनिहरुले पनि भगवान जीतवाहन गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे तर संयोगवश त्यसै दिन उनीहरु बस्ने मरुभुमीको छेउस्थित शहरको धनी ब्यापारीको मरेको छोरालाई ल्याएर जलाउन आउँछन, पानी अत्यधिक परेका कारण मलामी आएकाहरु लासलाई त्यतिकै छोडेर हिनेका थिए । चीलले अरु महिलाहरुझैं ब्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवनगर्ने तिव्र इच्छालाई दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि व्राह्मण परिवारमा दिदी–बहिनीका रुपमा जन्मिन्छिन् ।
चील अब शिलावती नामकी व्राह्मण कन्याको रुपमा र उनकी वहिनी अर्थात स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलावतीको बुद्धिसेन भन्ने व्यक्तिसंग अनि वहिनी कपुरवतीको विवाह राजा मलायकेतुसंग हुन्छ । शिलावतीको सात जना सुन्दर पुत्रहरु हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनि एकदमै दुखि र निरास हुन्छिन् । शिलावतीका छोराहरुले राजा मलायाकेतुकोमा काम गर्न थाल्दछन् र ती केटाहरु आफ्नी दिदीका पुत्रहरु भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकि शिलावतीकी बहिनी कपुरवती रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ती सातैजना शिलावतीका पुत्रहरुको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदीकोमा पठाउने षडयन्त्र गर्द्छिन् । तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ र ती सातैजना पुत्रहरुलाई अमृत दिएर अमर बनाउँदै उनिहरुको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरीएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफुलले भरिपूर्ण उपहारको रूपमा परिरणत हुन्छ ।
यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरुको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयवित अनि रुवावासी भइरहेको होला भनि एकजना सेविकालाई बुझ्न पठाउँछिन तर शिलावतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयूक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात कपुरवतीका पतिले पक्कैपनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोंच्दछन् ।
दिदीको खुशी सहन नसकि अव कपुरवती दिदीको घर पुग्दछिन् र आफूले सम्पूर्ण कुरा भन्दिन्छिन् । यसो भन्दैगर्दा शिलावतीलाई पूर्वजन्मको कुरा याद आँउछ जहाँ उनले चीलको रुपमा भएपनि भगवान जीतमवाहन गोँसाईको व्रत बसेकी थिइन् यो प्रसंग शिलवतीले बहिनीलाई भन्दछिन् र यो सुनेर बहिनी कपुरवति बेहोस हुन्छिन् जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्दापूर्वक ढंगले आमाहरुले छोराछोरीको रक्षकालागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।
विशेषत तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दु रित अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यकालागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण रहेको समाजशास्त्री महारुद्र झाले वताए ।
खानेकुराको स्वाद त समय अनि भान्छा अनुसार परिवर्तन हुनसक्ला तर एउटी आमाको आफ्नो सन्तानप्रतिको माया सदियौंदेखि उत्तिकै पवित्र अनि मातृमिठासले भरिपूर्ण छ यो पर्वको सन्देश रहेको छ ।