जनकपुरधाम ।
संविधान दिवसको पूर्वसन्ध्यामा संयुक्त मधेस संघर्ष समितिले जनकपुरधाममा खबरदारी सभा गरेको छ । विभिन्न आन्दोलनको बलमा मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रसम्म आई पुग्दा अहिले आएर प्राप्त उपलब्धि समेत खोस्ने प्रयास भईरहेको भन्दै समितिले खबरदारी सभा गरेको हो ।
खबरदारीसभामा बोल्दै नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि सदैव तत्पर रह्नु आवश्यक रहेको बताए । उनले अहिले आएर संविधानले आधा अधुरा अधिकार पनि खोस्ने षडयन्त्र चलिरहेकाले त्यो षडयन्त्र चिर्न तयार रह्न अपिल गरे । उनले आफू अहिले प्राप्त अधिकारका रक्षाका लागि लड्न र बाँकी अधिकारको पूर्तीकालागि संघर्ष गर्न तयार रहेको बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लाल खबरदारी सभामा मधेस केन्द्रित दलबिरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए । उनले सत्ताको झोलमा डुबेकाहरु अधिकार खोस्ने षडयन्त्र चलिरहेको देख्न नसकिरहेको आरोप लगाए । दुई ठूला दलको षडयन्त्रमा फसेकाहरु अहिले सत्ताको झोलमा रमाईरहेका छन् । उनले भने ‘सत्ताको झोलमा रमाईरहेकाहरुलाई त्यो झोलबाट निकाल्न हामी निकाल्न तयार छौँ, आउनुस निस्किनुस जनताको अधिकारको रक्षाका लागि लडौँ ।’
खबरदारीसभा कार्यक्रमको अध्यक्षता गरेका तमलोपाका बरिष्ठ नेता डा. विजय सिंहले राज्यका हरेक अंगमा समावेशिताको सुनिश्चितता, लोकतन्त्रमा समावेशी प्रतिनिधित्वकालागि निमित्त पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरुको सीमाङ्कनमा पहिचान आधारित सुधार, सबै संस्कृति र भाषाको सम्मान, समान अधिकार लगायतका विषयमा वर्तमान संविधानमा अग्रगामी संशोधनका निमित्त हामी संघर्ष गरिरहेका छौँ बताए ।
सभामा माओववादी नेतृ एवं पूर्व राज्यमन्त्री बोधमाया यादव, नेकपा एकिकृत समसाजवादी पार्टीका नेता शितल झा, माओवादीका नेता जगत यादव, मधेसी राष्ट्रिय मुक्ति मोर्चाका महेन्द्र पासवान, तमलोपाकी विभा ठाकुर लगायतले बोलेका थिए ।