एजेन्सी ।
भेनेजुएला प्रहरीले तीन अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । साथै तीन स्पेन र एक चेक गणतन्त्रका नागरिक पनि पक्राउ परेका छन् । बीबीसीका अनुसार उनीहरू सबैलाई देशमा अस्थिरता फैलाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भेनेजुएलाका गृहमन्त्री डिओसडाडो काबेलोले सयौँ हतियार पनि बरामद गरिएको दाबी गरेका छन् । उनले पक्राउ परेका विदेशी नागरिकले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य उच्च अधिकारीको हत्या गर्ने योजना बनाएको दाबी पनि गरेका छन् ।
अमेरिकाले भेनेजुएलाका १६ अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको दुई दिनपछि यो गिरफ्तारी भएको हो । यी १६ अधिकारी राष्ट्रपति निकोलस मदुरोको निकट मानिन्छन् । यसैबीच भेनेजुएला सरकारले पक्राउ परेका स्पेनी नागरिकहरू स्पेनको गुप्तचर केन्द्र सीएनआईसँग जोडिएको बताएको छ ।