एजेन्सी ।
म्यानमारमा यागी आँधीका कारण आएको भीषण बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने २ लाख ३० हजार मानिस विस्थापित भएको अधिकारीहरूले जनाएका छन् ।
बीबीसीका अनुसार देशको सत्तारुढ सैनिक सरकार (जुन्टा)ले प्रभाव कम गर्न विदेशी सहायताका लागि अनुरोध गरेको छ । राजधानी नेइपिड सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ । राज्यद्वारा सञ्चालित दैनिक न्यू लाइट अफ म्यान्मारले घरबारविहीन पीडितहरूका लागि केही अस्थायी राहत शिविरहरू स्थापना गरिएको जनाएको छ ।
यस वर्षको एसियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चीनको हाइनान टापु र फिलिपिन्समा पनि निकै ठूलो प्रभाव पारेको छ । जुन्टा सरकार प्रमुख मिन आङ हालिङ र अन्य अधिकारीहरूले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन् । उनले विनासकारी बाढीको सामना गर्न विदेशी सहायताका लागि अनुरोध गरेका छन् ।
रेडियो फ्री एसियाका रिपोर्टहरूमा भने बाढीका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १ सय ६० भएको उल्लेख गरिएको छ । टाउन्गुका एक उद्धारकर्मीले बीबीसीसँग सिताउङ नदीको पूर्वी किनारमा बाढीका कारण ३ सयभन्दा बढी मानिस फसेको बताएका छन् ।
‘हामीसँग उद्धार गर्न पर्याप्त डुंगा नै छैनन्,’ ती उद्धारकर्मीले भनेका छन् । वैज्ञानिकहरूले जलवायु परिवर्तनसँगै चक्रवात र आँधीहरू बलियो हुँदै गएको बताएका छन् । महासागरको पानी न्यानो भएपछि आँधीबेहरीले ऊर्जा बढी लिने र हावाको गति पनि उच्च हुने उनीहरूको भनाइ छ । त्यस्तै, न्यानो वायुमण्डलले पनि अधिक आर्द्रता राख्ने भएकाले पनि तीव्र वर्षा हुने गर्छ ।