एजेन्सी ।
अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अर्का डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिससँग अब चुनावअघि बहस नगर्ने भएका छन् । उनले बिहीबार ५ नोभेम्बरको राष्ट्रपतिको निर्वाचनअघि राष्ट्रपतीय बहसमा भाग नलिने जानकारी दिएका हुन् । केही सर्वेक्षणहरूले ह्यारिससँगको पहिलो बहसमा ट्रम्प पराजित भएको देखाएसँगै ट्रम्प भड्किएका हुन् ।
पूर्वराष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल साइट ट्रुथ सोसलमा लेख्दै भने ‘तेस्रो बहस हुनेछैन !’ ट्रम्पले मंगलबार ह्यारिससँगको बहस हुनुभन्दा पहिले जुन महिनामा राष्ट्रपति जो बाइडेनसँग बहस गरेका थिए ।
यद्यपि, ट्रम्पले मंगलबार ह्यारिससँगको बहसमा आफ्नो प्रदर्शनको प्रशंसा गरे । यो बहसले ६७.१ मिलियन टेलिभिजन दर्शकहरूलाई आकर्षित गरेको जनाइएको छ । ट्रम्पको पोस्ट सार्वजनिक भएको केही समयपछि ¥यालीमा बोल्दै ह्यारिसले भनिन्,’मलाई लाग्छ कि मतदाताहरूलाई अर्को बहस दिनु हाम्रो कर्तव्य हो ।’
जबकि ट्रम्पले आफ्नो पोस्टमा सर्वेक्षणहरूले उनलाई बहसमा विजयी देखाएको दाबी गरे । केही सर्वेक्षणहरूले भने ह्यारिसलाई राम्रो गरेको ठानेका थिए । मंगलबारको बहसबारे केही न केही सुनेका मतदातामध्ये ५३% ले ह्यारिसले जितेको र २४% ले ट्रम्पले जितेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छ्न् ।
बिहीबार सार्वजनिक भएको रोयटर्स÷इप्सोस सर्वेक्षण अनुसार ५४% दर्ता भएका मतदाताहरूले ट्रम्प र ह्यारिसबीचको एक मात्र बहस पर्याप्त रहेको ठानेका थिए । जबकि ४६% ले दोस्रो बहस चाहेको थिए ।
बहस हेर्नेहरूको बहुमतले ह्यारिसले ट्रम्पलाई पछि पारेको मानेका थिए । सीएनएनको बहसपछि सार्वजनिक गरिएको तत्काल सर्वेक्षण अनुसार ५४% ले ह्यारिसले जितेको भनेका थिए भने ३१% ले ट्रम्पलाई विजेता ठानेका थिए । सिएनएन, न्युयोर्क टाइम्स, बीबीसीलगायत ठूला अन्तर्राष्ट्रिय सञ्चार माध्यामका सर्वेक्षणहरूले ट्रम्प पराजित भएको बताउँदै आएका छन् ।