जनकपुरधाम ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् । यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
वडाध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिबास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो । घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरूले उनको हत्या भएको आशङ्का गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् । यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरू केही दिनअघि राजधानीसम्म पुगेका थिए । घटनाको प्रकृति र घटनाक्रम हेर्दा हत्या भएको देखिने भन्दै उनीहरुले सरकारले अनुसन्धानमा चासो नदेखाएको गुनासो गर्दै आएका छन् ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यादवको निधन दुर्घटनाबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि यसका लागि आग्रह गरिने जानकारी दिँदै यसमा लापरबाही गरियो भने परिणाम भयानक हुने चेतावनी दिनुभयो । परिवारले न्यायका लागि गरिरहेको याचना धेरै नै कारुणिक रहेको र नागरिकले न्यायका लागि याचना गर्ने अवस्था आउनु राम्रो नभएको उनले बताए । यसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उनले स्थानीय जनसमुदायले निरन्तर आवाज उठाइराख्नुपर्ने बताए । यसका लागि आवश्यक परे आन्दोलन गर्नुपर्ने स्थिति पनि आउन सक्ने उनले बताए ।
अध्यक्ष प्रचण्डले अध्यक्ष यादवकी श्रीमतीले देखाएको धैर्यता र साहसले गौरवानुभूति गराएको उल्लेख गर्दै यादवले आफ्नो राम्रो उत्तराधिकारी बनाएकाले अब राजनीतिक र सामाजिक काममा अघि बढ्न प्रेरित गर्नुपर्ने बताए । माओवादी केन्द्रको तर्फबाट निर्वाचित वडा अध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेसको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यादवको स्मृतिमा फाउन्डेसन बनाउन र उनका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टीलाई निर्देशन दिए । उनले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।