काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन् । बुधबार साँझ ५बजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । त्यसैगरी प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ ।
नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक डाकिएको स्रोतले जनाएको छ । न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो । उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो ।
तर, आजको बैठकमा विपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपभामुख इन्दिरा राना उपस्थित हुने÷नहुने टुंगो छैन । प्रचण्ड पार्टी बैठक र प्रशिक्षणका लागि यतिबेला मधेसमा छन् ।
उपसभामुख रानालाई सत्तारुढ कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरिरहेका छन् । न्यायपरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट एकजनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाश पाउँदैछन् । संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।