जनकपुरधाम ।
मधेस सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जनमत पार्टीको प्रवेश कार्यक्रम गरेको सम्बन्धी समाचार दुई दिन अगाडी मोडेलखबरको अनलाइन पोर्टलमा प्रकाशित भएको थियो । मोडेलखबरमा प्रकाशित सो समाचारपछि मुख्यमन्त्री कार्यालयमा गरिएको पार्टी प्रवेश कार्यक्रमको विषयलाई लिएर मधेस प्रदेशसभामा समेत प्रदेशसभा सदस्यहरुले प्रश्न उठाएका छन् ।
मधेस प्रदेशसभामा प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले मुख्यमन्त्री कार्यालयमै गरिएको पार्टी प्रवेश कार्यक्रमको विषयलाई लिएर सदनमै आलोचना गरे । उनले भने ‘मुख्यमन्त्री कार्यालय कुनै पार्टी विशेषको कार्यालय होइन, त्यहाँ भएको पार्टी विशेषको कार्यक्रमलाई लिएर विभिन्न संचारमाध्यमहरुमा समाचारहरु प्रकाशित भएका छन्, कुन प्रयोजनले त्यहाँ पार्टी प्रवेश कार्यक्रम राखियो त्यो स्पष्टसंग आउनु पर्यो ।’
उनले मुख्यमन्त्री कार्यालयलाई प्रदेशका हरेक जनताको कार्यालय बनाउनु भन्दा पनि पार्टीको कार्यालय बनाउन खोज्नु एकदमै गलत रहेको बताए । सरकारले अब आउने दिनमा यो दिशामा आफूलाई सच्याउने छ भन्ने विश्वास रहेको उनले भने ।
गत भदौ २२ गते मधेसको मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यालयमै पार्टी प्रवेश कार्यक्रम राखिएको थियो । सो कार्यक्रममा मुख्यमन्त्री सिंहको उपस्थिति नरहेपनि मुख्यमन्त्री कार्यालयको सचिवालयका रंजित साहले मुख्यमन्त्री सिंहको कार्यकक्षमै पार्टी प्रवेश कार्यक्रम सञ्चालन गरेका थिए ।
साहले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता वितरण गरिरहेको तस्वीर सामाजिक संजालमा समेत कतिपयले पोस्ट्याएका थिए ।
सदनमा प्रदेश सरकारको आलोचना
मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले सरकारको कामकारबाहीको कडा आलोचना समेत गरेका छन् । प्रदेशसभा सदस्य चौधरीले प्रदेश सरकारले पछिल्लो समय गरेको राजनीतिक नियुक्तिहरुमा समावेशी सिद्धान्तलाई लत्याएको आरोप लगाए । उनले समावेशीको मुद्दा लिएर भएको मधेस आन्दोलनको जगमा संघियता स्थापित भएपनि मधेस सरकारले नै समावेशी सिद्धान्त नअपनाउनु दुःखद रहेको बताए ।
यता अर्का प्रदेशसभा सदस्य मनिषकुमार सुमनले पछिल्ला सरकारले गरेका प्रदेशको गौरव आयोजनाका कार्यहरुलाई ध्वस्त पार्ने खेलमा वर्तमान सरकार लागेको आरोप लगाए । प्रदेश सरकारको गौरव योजनाको रुपमा रहेको कृषि विश्वविद्यालयको शिलान्यासलाई त विवादित बनाइयो नै त्यसमाथी अहिले आएर १० लाख रुपैयाँ मात्रै कृषि विश्वविद्यालयका लागि विनियोजन गर्नुले वर्तमान सरकार ती योजनाहरु ध्वस्त पार्ने खेलमा लागेको सुमनले बताए ।
प्रदेशसभा सदस्य कुमरकान्त झाले सिन्धुलीको एक विद्यालयमा धनुषाका एक विद्यार्थीको मृत्यु शंकास्पद रहेकाले सोको सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारसंग माग गरे ।