एजेन्सी ।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले भारतमा रहेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ । विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना गत अगस्ट ५ का दिन भागेर भारत गएकी हुन् । हाल उनी भारतमै छिन् ।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणका प्रमुख अभियोजक मोहम्मद ताजुलले भारतसँगको सुपुर्दगी सन्धिअनुसार हसिनालाई फिर्ता ल्याउन आवश्यक कदम चालिने बताएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार सामूहिक हत्याको आरोपमा मुद्दा अघि बढाउन हसिनालाई स्वदेश फर्काउन लागिएको हो ।
अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमका अनुसार हसिना नेतृत्वको सरकारविरुद्धको आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
ढाकाको न्यायाधिकरण परिसरमा पत्रकार सम्मेलनमा प्रमुख अभियोजक ताजुलले भने, ‘जब अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले आफ्नो काम पुनः सुरु गर्छ, हामी शेख हसिनालगायत सबै फरार अभियुक्तहरूविरुद्ध सामूहिक हत्या र मानवता विरुद्धको अपराधमा पक्राउ पुर्जी जारी गर्न आवेदन दिनेछौँ ।’