काठमाडौँ ।
काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएपछि ओलीले झण्डै ७७ हजार फलोअर्स गुमाएका छन् । ओलीका फलोअर्स घट्दा बालेनका भने करिब एक लाख फलोअर्स बढेका छन् ।
बालेन समर्थकले मंगलबारदेखि सुरु गरेको यो अभियानको प्रभावस्वरुप दुईदिनमै एमाले अध्यक्षसमेत रहेका ओलीलाई ७७ हजारले अनफलो गरेका हुन् । मंगलबार र बुधबार धेरै फलोअर्स गुमाएका ओलीलाई आज भने अनफलो गर्ने क्रम घट्न थालेको छ ।
बालेनका समर्थकले ओलीविरुद्ध यो अभियान चलाउनुअघि सामाजिक सञ्जाल फेसबुकमा ओलीका फलोअर्स ६ लाख ६६ हजार थिए । बिहीबार बिहानसम्म उनका फलोअर्स ७७ हजार घटेर ५ लाख ८९ हजारमा झरेको छ ।
बालेनका समर्थकको यो अभियानपछि धेरैले नेपालको राजनीतिमा सक्रिय कुन दलका नेताका फलोअर्स कति छन् भन्ने खोजी गर्न थालेका छन् । काठमाडौँका मेयर बालेनका फलोअर्स भने फेसबुकमा २१ लाख छन् । जनप्रतिनिधिमा सबैभन्दा धेरै फलोअर्स हुने नेतामा पर्छन् बालेन । उनको कुनै दल छैन । उनी स्वतन्त्र मेयर हुन् ।
बालेन समर्थकको यो अभियानपछि बालेनका फलोअर्स भने १ लाख बढेको छ । यसअघि उनका फलोअर्स २० लाख थिए । हाल सक्रिय राजनीतिमा रहेका शीर्ष नेतामध्ये सबैभन्दा धेरै फलोअर्स भएका नेता नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हुन् । फेसबुकमा उनका १४ लाख फलोअर्स छन् ।
त्यसैगरी फलोअर्स धेरै हुने राजनीतिक दलका दोस्रो नेतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पर्छन् । फेसबुकमा उनका फलोअर्स १२ लाख ९० हजार भन्दा धेरै छन् । त्यसैगरी जनमत पार्टीका अध्यक्ष सीके राउत पनि धेरै फलोअर्स भएका नेतामा पर्छन् । सामाजिक सञ्जालमा उनका फलोअर्स ६ लाख ६७ हजार छ ।
त्यसैगरी पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुकमा ५ लाख ७६ हजारले फलो गरेका छन् । बालेन समर्थकले ओलीविरुद्ध चलाएको अलफलो अभियानपछि प्रचण्डको फेसबुक पेजमा ६ हजार फलोअर्स थपिएका छन् । यसअघि उनका ५ लाख ७० हजार फलोअर्स थिए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई २ लाख ६५ हजारले फेसबुकमा फलो गरेका छन् । अर्का पूर्वप्रधामन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका फेसबुकमा फलोअर्स १ लाख ९२ हजार छन् ।
त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देनको फेसबुक फलोअर्स संख्या १ लाख ५० हजार छ भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई २६ हजारले मात्रै फेसबुकमा फलो गरेका छन् । त्यसैगरी जसपा अध्यक्ष अशोक राईका फलोअर्स ७ हजार ३ सय छन् ।
धेरै फलोअर्स हुने जनप्रतिनिधिमा सुनसरीको धरानका मेयर हर्क सम्पाङ पनि पर्छन् । फेसबुकमा उनका फलोअर्स ८ लाख ६८ हजार छ । त्यस्तै धनगढीका मेयर गोपी हमाललाई ३ लाख ६ हजारले फेसबुकमा फलो गरेका छन् ।