Breaking 
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ |

मधेसमा डुबेर मृत्यु हुनेको संख्या बढ्दो

३ वर्षमा ५ सयबढीको मृत्यु, मृत्यु हुनेमा अधिकांश बालबालिका





जनकपुरधाम ।
बुधबार साँझ धनुषाको लक्ष्मीनियामा पोखरीमा डुबेर तीन बालकको मृत्यु भयो । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका छन् ।
यस अघि केही साता अगाडी सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा रहेको राम जानकी मठको पोखरीमा डुबेर एक बालकको मृत्यु भयो । ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ का ६ वर्षका अंकित साहको पोखरीमा डुबेर मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घरनजिकैको पोखरीमा नुहाउन पसेका साहको डुबेर मृत्यु भएको हो ।
यी दुई घटना पछिल्ला उदाहरण मात्रै हुन् । प्रहरीको तथ्यांक हेर्ने हो भने मधेस प्रदेशमा प्रत्येक वर्ष डुबेर मृत्यु हुनेको संख्या भयावह छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा सयौँको संख्यामा डुबेर मानिसहरूको मृत्यु हुने गरेको छ ।
प्रदेश प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा मधेस प्रदेशमा पोखरी, खाडल, खोला, इनार तथा पानी थापेर राखिएका भाँडाहरूमा समेत डुबेर मृत्यु हुने गरेको बताउँछन् । पछिल्लो तीन वर्षको प्रहरी तथ्यांक अनुसार बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी मधेस प्रदेशका आठ जिल्लामा झन्डै पाँच सय मानिसको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै बालबालिका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा मधेस प्रदेशका ८ जिल्लामा २०६ जनाको डुबेर मृत्यु भएको छ । जसमा १०९ जना बालबालिका रहेका छन्। ७६ जना पुरुष र २१ जना महिलाको डुबेर मृत्यु भएको छ ।
तथ्यांक हेर्दा सबैभन्दा धेरै धनुषामा ३६ जना पुरुष र सिरहामा २५ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/०८० मा यो तथ्यांक केही घटेको देखिएको छ । यस वर्ष ६५ जना बालबालिकासहित डुबेर मृत्यु हुनेको संख्या १०५ छ ।
आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा डुबेर मृत्यु हुनेको संख्या बढेको छ । आ.ब. २०८०/०८१ को असार २० गतेसम्म १७० जनाको डुबेर मृत्यु भएको छ । ११३ बालबालिका, ४३ पुरुष र १४ जना महिलाको मृत्यु भएको छ ।
डुबेर मृत्यु हुने घटनाको वार्षिक तथ्यांक हेर्दा बालबालिकापछि सबैभन्दा धेरै पुरुषहरू यस्ता घटनामा परेको पाइएको छ । तुलनात्मक रुपमा महिलाको संख्या कम छ । आर्थिक वर्ष २०७८/०७९ मा ५ जना, २०७९/०८० मा १ जना र २०८०/०८१ मा ११ जना डुबेर घाइते भएका छन् ।