सुजीतकुमार झा ।
रामजानकी विवाहपञ्चमी महोत्सवमा यसपाली अयोध्यावाट जन्ती आउने भएको छ । पाँचसय भन्दा बढीको संख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा शुरु भइसकेको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार यसै तैयारीका क्रममा जनकपुरधाम र अयोध्याका अधिकारीहरुको बैठक भएको छ । विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज पनि एकसाता अघि जनकपुरधाम आउनु भएको थियो । उहाँको उपस्थितिमा सन्तमहन्थ र विश्व हिन्दु परिषद्का अधिकारीहरु सहभागि थिए ।
मंसिर १८ गते जन्ती जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । मंसिर २१ गते विवाहपञ्चमी रहेको छ । अयोध्याबाट आएका जन्तीहरु मंसिर २३ गते भारतका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । परिषद्का धनुषा अध्यक्ष संतोष साहका अनुसार जन्तीहरु हुलाकी राजमार्ग प्रयोग गरी वीरगञ्जसम्म जानेछन् र त्यहीबाटो भइ अयोध्या फर्किने कार्यक्रम रहेको छ । फर्किनेक्रममा मलंगवापनि जन्तीहरु जानेछन् ।
पहिलोपल्ट अयोध्यावाट सन् २००४ मा जन्ती आएको थियो । त्यसपछि २००९ र २०१४ मा जन्ती आएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले जनाएका छन् । यसपल्ट जनकपुरधामबाट तिलक लिएर अयोध्या जाने कार्यक्रम पनि बनाइदैछ । परिषद्का धनुषा अध्यक्ष संतोषले विश्व हिन्दू परिषद्को यो प्रस्ताव रहेको छ जसमा परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री पंकज पनि सहमत हुनुभएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थलाई पनि जानकारी गराइएको छ ।
परिषद्का अध्यक्ष संतोषले सबै कुरो ठीकै रहयो भने कातिक पूर्णिमा तिथिका दिन हामी तिलक लिएर अयोध्याका लागि प्रस्थान गर्नेछु दाबी गर्नुभयो । यो तिलकले जनकपुरधामको राम मन्दिरमा हुने तिलकोत्सव कार्यक्रममा कुनै फर्क नपर्ने र सो कार्यक्रम निर्धारित समयमा हुने परिषद्सँग आबद्ध योगगुरु मनोहर साहले बताए ।
यस्ता कार्यक्रमले जनकपुरधामको पर्यटन व्यवसायलाई वल भेटाउने जानकारहरु बताउँछन् ।