जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि उम्मेदवारहरु चुनावी मैदानमा ओर्ली सकेका छन् । भदौ २९ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशित भई सकेको छ । उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न अहोरात्र खटिरहेका छन् । व्यापारी तथा जनकपुरधामको उद्योग व्यवसायको हितका लागि आफूले तयार पारेका एजेण्डा व्यापारीहरुलाई बुझाई रहेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि जितेन्द्र प्रसाद साह, सुरेन्द्र भण्डारी र मनिषरमण साहले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदका उम्मेदवार जितेन्द्रप्रसाद साहले उद्योगी, व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीलाई समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी रहेको बताउँछन् । अल्मुनियम पसलका सञ्चालक साहले साना, मझौला तथा ठूला व्यवसायमा आफूले प्राप्त गरेको अनुभवलाई उद्योग वाणिज्य संघका लागि प्रयोग गर्ने बताए ।
उनले अध्यक्षमा निर्वाचित भए स्थानीय सरकारसँगको सहकार्यमा फुटपाथमा व्यापारिक गतिविधि निरूत्साहन गरी फुटपाथ व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था मिलाउन समन्वय गर्ने बताए ।
बजार क्षेत्रमा पार्किङको वैज्ञानिक व्यवस्थापन गर्ने, आर्थिक मन्दीको असर परेको व्यवसाय क्षेत्रमा कर घटाउन पहल गर्ने, घरभाडा कम गर्न घरबेटीसँग सहकार्य र समन्वय गर्ने, पसलहरूको होर्डिङ बोर्डको कर पूर्ण रूपमा खारेज गर्न पहल गर्ने लगायतका एजेण्डामा काम गर्ने जितेन्द्रले बताए ।
व्यवसायिक सुरक्षाको प्रत्याभूति र सामाजिक एकताका लागि आफूले उम्मेदवारी दिएको उनले बताए । संघमा आफूले विगतदेखि गरेका योगदान नै आफ्नो जितको मुख्य कारण रहेको उनको भनाई छ । नैतिकवान एवं सक्षम नेतृत्व, बजार व्यवस्थापन र विस्तार, उद्योग, व्यापार, कृषि र पर्यटनमा आधारित स्थानीय आर्थिक विकासलाई जोड दिने प्रमुख उद्देश्य रहेको जितेन्द्रले बताए । जितेन्द्र जनकपुरधाम उद्योग वाणिज्य संघको कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार सुरेन्द्र भण्डारीले उपाध्यक्ष बनेर उद्योगी व्यवसायीको हितमा काम गर्न नसकिने देखेर यसपाली अध्यक्षमा उम्मेदवारी दिएको बताए । उपाध्यक्षमा निर्वाचित हुँदा उनले सर्वाधिक मत प्राप्त गरेका थिए त्यो अधिवेशनमा ।
‘उपाध्यक्ष पदमा निर्वाचित भएपछि मैले व्यवसायीका हक, हितका लागि धेरै काम गर्ने प्रयास गरेँ । धेरै ठाउँमा बोलेँ । संस्थागत रूपमा काम गर्ने प्रयास गरेँ । तर उपाध्यक्षले चाहेर यहाँ केही गर्न सकिने रहेनछ,’ सुरेन्द्रले भने, ‘आफूले चाहेर पनि गर्न नसकेका धेरै कामहरू गर्न मैले अध्यक्ष पदमै उम्मेदवारी दिनुपर्यो ।’
उनले आफूले उठाउन खोजेका एजेण्डाहरू अन्य उम्मेदवारले उठाउन नचाहेका कारण उम्मेदवार बन्नु परेको बताए । लामो समय संघमा आवद्ध रहँदा उल्लेखनिय काम गरेको चर्चा गर्दै विगतमा आफू संघमा रहँदा व्यवसायिक हकहितमा धेरै काम भएको तर हालको नेतृत्वले प्रभावकारी काम गर्न सकेकाले पनि आफुले उम्मेदवारी दिएको उनले बताए ।
त्यस्तै अर्का उम्मेदवार मनिषरमण साहले आफू अध्यक्ष भए झोलामा संघको सदस्यता बोकेर हिँड्ने तर कहिल्यै पेशा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानबिन गरी हटाउने बताएका छन् । यसो गर्दामात्रै संघलाई व्यवसायीहरूको विशुद्ध संगठन बनाउन सकिने उनको भनाइ छ ।
उनले संघमा आबद्ध व्यवसायीहरूको सुरक्षाका लागि बीमा गर्ने, व्यवसाय कर, घरबाहल कर तथा विज्ञापन करको समस्यालाई नीतिगत रूपमा समाधान गर्ने, बैंकहरूले मनोमानी ढंगले बढाउने ब्याजदरमा एकरूपता बनाउन दबाब दिने एजेण्डाहरू बोकेका छन् । मनिषले संघमा स्थानीय तहलाई समेत जोड्ने गरी काम गर्ने, होटल तथा रेष्टुरेन्टहरू चौबिसै घण्टा सञ्चालन हुन दिन पहलकदमी दिने प्रतिबद्धता जनाएका छन् ।