

काठमाडौँ ।
कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार न्याय परिषद् घेरेको बारले आज सर्वोच्च अदालत परिसरमा धर्ना दिने कार्यक्रम राखेको छ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार अब निरन्तर आन्दोलनमा उत्रेको बताए । बारले सर्वोच्च अदालत बार एसोसिएसनसहित उपत्यका बार एकाइका कानुन व्यवसायीहरूलाई २ बजेदेखि ३ बजेसम्म धर्नाका लागि सर्वोच्च परिसरमा उपस्थित हुन अनुरोध गरेको छ ।
‘विवादास्पद संशोधित न्याय परिषद् नियमावलीविरुद्ध धर्ना कार्यक्रम सर्वोच्च अदालत परिसरमा दिनको २ः००–३ः०० सम्म नियमित रूपमा विरोधको कार्यक्रम सञ्चालन हुने हुँदा यसै सूचनामार्फत उपस्थितिको लागि हार्दिक आह्वान गर्दछौँ ’ बारले आफ्ना सदस्यहरूलाई अनुरोध गरेको छ ।
बारले यसअघि प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्याय परिषदमा ज्ञापनपत्र बुझाउने गर्दै आएका थिए । आफूहरूले संविधान नै संशोधन गरेको नियमावली सच्चाउन भनी यसअघि गरेको अनुरोध अस्वीकार गरेकाले बाध्य भएर आन्दोलनमा उत्रेको महासचिव अन्जिता खनालले बताइन् । उनले अब नियमावली संशोधन नभएसम्म बारले आन्दोलनको कार्यक्रम चलाउने उनले बताइन् ।
