जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पदमा लक्ष्मण साह र्निविरोध निर्वाचित भएका छन् । पछिल्लो निर्वाचनमा उपाध्यक्ष पदमै पराजित साह यस पटक भने निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्ष पदमा उनीसंगै उम्मेदवारी दिएका विश्वनाथ साह सुडी उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् । जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित साहसंग जनकपुरधाम उद्योग वाणिज्य संघ तथा जनकपुरधामको बजार व्यवसायको विकासका लागि के के योजना छन् लगायतका विषयमा मोडेलखबरका समाचार संयोजक जयन्त ठाकुरले कुराकानी गरेका छन् ।
निर्वाचन हुन पूर्व नै यहाँ निर्विरोध निर्वाचित हुनु भएको छ, कस्तो महशुश भईरहेको छ ?
म एकदमै खुशी छु । मेरो यो जीतमा जनकपुरधामका सम्पूर्ण व्यापारीहरुको योगदान छ । यस अघि मैले उद्योग वाणिज्य संघको विकासमा योगदान पुर्याउँदै आईरहेको थिएँ, पछिल्लो निर्वाचनमा पनि मैले उपाध्यक्ष पदमा उम्मेदवारीको दिएको थिएँ तर झिनो मतले म पराजित भएको थिएँ । यी सब कुरालाई ध्यानमा राखेर मेरो विपक्षमा उम्मेदवारी दिएका विश्वनाथ साहजी ममाथी विश्वास गरेर उम्मेदवारी फिर्ता लिनु भयो । उहाँको पनि मेरो जीतमा योगदान रह्यो । म एकदमै खुशी छु निर्विरोध निर्वाचित भएकोमा ।
अब यहाँ जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व पंक्तिमा आइ पुग्नुभयो, जनकपुरधामको बजार व्यवसायको विकासका लागि यहाँसंग कस्ता योजनाहरु छन् ?
म भर्खर निर्विरोध निर्वाचित भएँ निर्वाचन भएपछि मात्रै पदमा पुग्ने छु, भदौ २९ गते हुने निर्वाचनपछि जुन साथीहरु जितेर आउनु हुन्छ उहाँहरुसंग समन्वय गरेर एउटा खाका बनाएर जनकपुरधाम बजारको विकासका लागि काम गर्नेछु ।
तैपनि यहाँको पनि केही प्राथमिकता होला नि ?
मैले जनकपुरधामको व्यापार व्यवसायको विकासका लागि केही प्राथमिकता निर्धारण गरेको छु । मेरो पहिलो प्राथमिकता तेस्रो मुलुकबाट माल समान भिठामोड तथा जटही नाका भएर कसरी आउन सक्छ त्यस दिशामा काम गर्नुछ । हुनत यसका लागि पदमा नहुँदा पनि म यसका लागि पहल गर्दै आईरहेकोे छु । यसका साथै कार्गो रेल पनि हुनु पर्छ यो माग व्यापारीहरुको छ । त्यता तर्फ काम गर्नु पनि मेरो प्राथमिकता छ । यदि रेलबाटै मालसामान ढुवानी हुन सक्यो भने ट्राभेल कस्ट घटेर आउँछ अनि बजारमा सस्तो मूल्यमा सामान उपलब्ध गराउन सहज हुनेछ ।
यसअघिको नेतृत्वले पनि यी प्रतिबद्धताहरु व्यक्त गरेका थिए, तर कागजमै सीमित रह्यो, यस पटक यो प्रतिबद्धता पूरा हुन्छ त्यसको के ग्यारेण्टी ?
यो त सरकारी संयन्त्रबाट पूरा हुने विषय हो । हामी यसका लागि पहल गर्न सक्छौँ र त्यसका लागि पहल भएकै हो । अब चाँडै यो पूरा हुनेमा हामी विश्वस्त छौँ ।
जनकपुरधामका कयौँ व्यापारी ऋणको भारमुनि पिल्सिएका छन्, व्यापारीहरु जनकपुरधामबाट पलायन भईरहेका छन्, यी चुनौतीहरुलाई कसरी पार गर्नु हुन्छ ?
यसका सम्बन्धित निकायको कमजोरी त छ नै त्यसमाथी केही हदसम्म हामी व्यापारीहरुको पनि कमी कमजोरी छ । ग्राहक जनकपुरधाममा होल्ड गर्दैनन्, बजार व्यवसाय चौपट्ट भईरहेको छ । सीमापारीबाट अवैध रुपमा मालसामान आईरहेका हुन्छ त्यो अवैध रुपमा आउने सामान प्रवेशमा सुरक्षाकर्मीहरुसंग समन्वय गरी रोक्नु ठूलो चुनौतीको विषय हो । यी चुनौतीहरु पार गर्नुछ हामीलाई ।
ग्राहक किन होल्ड गर्दैनन् जनकपुरधाममा ?
जनकपुरधाम बजारमा मूल्यमा एकरुपता छैन । प्रशासनको कमी कमजोरीका कारण अवैध माल सामान ढुवानी भईरहेका छन्, त्यसमाथी कोही होलसेल व्यापार गर्छन, कोही सटरमा त कोही खुद्रा व्यापारमा लागेका छन् त्यसले पनि मूल्यमा एकरुपता आउन सकेको छैन । यो समस्या समाधानका लागि पनि आउने दिनमा पहल गर्नेछौँ ।