जनकपुरधाम ।
जनकपुरधामका संचारकर्मी संतोष कर्ण चौरबाट कुश उखालेर ल्याएका छन् । आज बिहानै खुर्पी लिएर कुश लिन चौर तिर उनी पुगेका थिए । खेतको आलीमा जन्मेको कुश उखालेर उनले ल्याएका हुन् । संचारकर्मी कर्णसंगै बुवा नभएका उनका छिमेकी पनि कुश उखाल्न विहानै गएका थिए । उनीहरुलेपनि कुश ल्याएका छन । कुशे आमावश्याका दिन कुश चौर तिरवाट उखालेर ल्याउने मिथिलाञ्चलमा परम्परा रहेको छ ।
कुश उखाल्नेहरुको चौरतिर भीड लागेको थियो । घरघरबाट मानिसहरु कुश उखाल्न खेत, चौर तिर गएका थिए ।
बुवा स्वर्गीय भएकाहरु नै कुश ल्याउने गर्छन । भदौ आमावश्याका दिन कुश उखालेर ल्याउँदा वर्षभरी पूजामा प्रयोग गर्ने गरिन्छ पुरहित पेशासंग आवद्ध पण्डित दीगम्बर झा ‘दिनमणि’ले बताए । बुवाको मृत्यु भएको ३ वर्ष भएकाले आफू पहिलो चोटी कुश उखाल्न गएको जनकपुर ८ का मनोज पण्डितले वताए । कसरी कुश उखालिन्छ आफूलाई थाहै थिएन छिमेकीसंगै गएको र उहाँहरुले नै बताए अनुसार उखालेर आफूले ल्याएको उनले वताए ।
कतिले त्यतिकै कुश उखालिरहेका थिए भने केही मन्त्र पढेर कुश उखालिरहेको पनि देखियो । कुशकोपनि मन्त्र हुन्छ ? यससम्बन्धमा पण्डित दिनमणिले यो मन्त्र पढेर कुश उखाल्नुपर्छ भने –
कुशाग्रे वस्ते रूद्रः कुशमध्ये तु केशवः
कुशमूल वसेद् ब्रह्मा कुशन्मे देहि मेदिनि ।
कुशोऽसिकुशपुत्रोऽसि ब्रह्मणा निर्मिता पुरा,
देवपितृ हितार्थाय कुशमुत्पाट्याम्हम् ।।
हिन्दू धर्मावलम्बीका लागि कुश ज्यादै अनिवार्य एवं पवित्र वस्तु मानिन्छ । वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको ठूलो महत्व बताइएको छ । आयुर्वेदिक उपचारमा पनि कुशको ठूलो महत्व छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारकालागि आयुर्वेदिक औषधि बनाइन्छ । कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ । एकदमै तीखो र धारिलो पात हुने हुँदा यसलाई टिप्दा होशियारीपूर्वक टिप्नु पर्ने हुन्छ । पहिले पहिले परीक्षाको समयमा जो कुशलाई सहजतापूर्वक (घाउ नलगाई) वटुल्न सक्थ्यो उसलाई कुशल मानिन्थ्यो । हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्रयाउँछन् । कुश एक वनस्पति हो । यसलाई विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ ।
व्राह्मणद्वारा पूजा गरी छेदन् गरेर जजमानहरू कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूधर्ममा कुशलाई भगवान विष्णुको प्रतीक पनि मानिन्छ । यज्ञादी कर्म गरिँदा कुशको आहुति केतु ग्रहलाई वैदिक मन्त्रकासाथ दिने चलन छ । यज्ञ गरिँदा यज्ञकुण्डको चारैतिर कुश ओछ्याइन्छ र रात्रिकालमा शुद्ध पानीमा भिजाएर राखेको कुशको पानीको प्रयोग वीणादि कलश स्थापना गरिँदा कलशमा राख्ने चलन पनि छ ।
देवी देवताको पूजामा अभिषेक, प्राण प्रतिष्ठा, प्रायश्चित, दशविध स्नान आदि गरिँदा कुश मिश्रित जल नै प्रयोग गरिन्छ । कुशासनमा बसेर पूजा गर्नु, कुशको औंठी देव कार्यमा साहिँली औंलामा र पितृकार्यमा चोर औंलामा लगाउनु, कुशलाई कम्मरमा सिउरिनु धार्मिक विधी हुन् । यद्यपि वैज्ञानिक दृष्टिकोणबाट पनि यसो गरिनु लाभदायक मानिएको छ । भनिन्छ कुशले बनेको गुन्द्री वा चटकीमा नियमित बसाइले उच्च रक्तचापका विरामीलाई लाभ हुन्छ ।
वैज्ञानिक नाम इराग्रोस्टिस क्यानोसुरोडिज (Eragrostis cynosuroides )रहेको छ । शास्त्रमा दश प्रकारको कुशको वर्णन गरिएको छ ।
कुशाः काशा यवा दूर्वा उशीराच्छ सकुन्दकाः ।
गोधूमा ब्राह्मयो मौन्जा दश दर्भाः सबल्वजाः ।।
अत्यन्त पवित्र हुनुका कारण यसको एक नाम पवित्री पनि भनिन्छ । कुश पृथ्वी लोकको नभइ अन्तरिक्षबाट उत्पन्न भएको मानिन्छ । मत्स्य पुराणका अनुसार कालो तिल र कुश भगवान विष्णुको शरीरबाट उत्पन्न भएकाले यो अत्यन्त पवित्र रहेको छ । कथाका अनुसार जब भगवान् श्रीहरिले वराह अवतार धारण गरेका थिए त्यो वेला हिरण्याक्षको वध गरेपछि जब पृथ्वीलाई जलबाट बाहिर निकाले र उसलाई आफनो निर्धारित स्थानमा स्थापित गरे, त्यसपछि वराह भगवानले पशु प्रवृत्तिका अनुसार आफनो शरीरमा लागेको जललाई झारेर हटाउदा एउटा केश तल झरेको थियो । पृथ्वीमा झरेको त्यो केशनै कुशको रुपमा परिणत भएको थियो । एउटा मान्यता यो पनि रहेको छ जब सीता जी पृथ्वीमा समाएका थिए भगवान राम उहाँलाई वचाउने निकै प्रयास गरेका थिए तर उहाँको हाथमा सीता माताको केशमात्रै आएको थियो । त्यो केश नै कुश वनेको वताइएको छ । पण्डित दिगम्बरका अनुसार श्मसान भूमि, सडक छेउ, यज्ञस्थल, पिण्डदान स्थल र अन्य अपवित्रस्थलको कुश टिप्नु हुँदैन ।